फेरियो राजनीतिक नेतृत्व, फेरिएन उपभोक्ताको सास्तीः आकासिँदो महँगीको ग्राफले रेकर्ड तोड्दै
काठमाडौं । सर्वसाधारणलाई दुई छाक टार्नै धौ–धौ परिरहेका बेला बजारमा महँगीले सीमा नाघेको छ। चालु आर्थिक वर्षको सुरुवाती महिनाहरूमा केही शान्त देखिएको बजार मूल्य त्यसपछिका महिनाहरूमा एकाएक उकालो लाग्न थालेकाे हाे।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनमा केवल १.६८ प्रतिशतमा सीमित रहेको मूल्य वृद्धिदर वैशाखसम्म आइपुग्दा तीन गुणाभन्दा धेरैले बढेर ५.०४ प्रतिशत पुगेको छ। विशेषगरी आम उपभोक्ताको दैनिकी टार्न नभई नहुने खाद्य तथा पेय पदार्थ समूहको महँगी एकाएक उचालिएका कारण समग्र मुद्रास्फीतिमा यस्तो तीव्र चाप परेको देखिन्छ।
आर्थिक वर्ष २०८२ को साउनदेखि पुस महिनासम्म उपभोक्ताले विशेष गरी तरकारी र मरमसलाजन्य वस्तुमा ठुलो राहत पाएका थिए। साउन महिनामा तरकारी उप–समूहको सूचकाङ्क १८.५६ प्रतिशतले घटेको थियो भने भदौमा १२.७४ प्रतिशत, असोजमा १५.६३ प्रतिशत र कार्तिकमा १४.४३ प्रतिशतले घटेको थियो। यो क्रम पुस महिनासम्म नै कायम रह्यो, जसका कारण खाद्य तथा पेय पदार्थ समूहको समग्र महँगी लामो समयसम्म निकै तल झर्न पुग्यो। कार्तिक महिनामा खाद्य मुद्रास्फीति सबैभन्दा न्यून विन्दुमा पुगेको थियो ।
यद्यपि, सोही अवधिमा घ्यू तथा तेल उप–समूहको मूल्य भने निरन्तर बढीरह्यो। साउनमा १०.९७ प्रतिशत र भदौमा ११.०९ प्रतिशतले बढेको घ्यू तथा तेलको मूल्यले महँगीलाई केही थामे पनि तरकारीको भारी गिरावटले समग्र खाद्य महँगी नियन्त्रणमै रह्यो।
राष्ट्र बैंकको विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कलाई सूक्ष्म रूपमा केलाउँदा बजार अनियन्त्रित हुनुको मुख्य टर्निण पोइन्ट यही २०८२ को माघ महिना नै देखिन्छ। पुस महिनासम्म २.४२ प्रतिशतमा रहेको समग्र महँगी माघ महिनामा छिचोलिँदै सिधै ३.२५ प्रतिशत पुग्यो। माघ महिनामै तरकारीको मूल्यमा ११.६३ प्रतिशतको दोहोरो अङ्कको वृद्धिदर देखियो। त्यति मात्र होइन, घ्यू तथा तेलको मूल्य ७.६१ प्रतिशत र फलफूलको मूल्य ७.४१ प्रतिशतले थपिएर उपभोक्ताको ढाड सेक्ने काम यही महिनाबाट सुरु भयो।
माघको यो तीव्र मूल्यवृद्धि फागुन र चैत महिनामा पुग्दा खाद्य समूहमा अझ आक्रामक रूपमा विस्तार भयो। फागुनमा समग्र महँगी ३.७५ प्रतिशत पुग्दा खाद्य समूहअन्तर्गत तरकारीको मूल्य ११.४९ प्रतिशत, घ्यू तथा तेलको ९.८६ प्रतिशत र फलफूलको मूल्य ९.६३ प्रतिशतले बढ्यो।
चैत महिनामा समग्र महँगी केही घटेर ३.३९ प्रतिशत कायम भए तापनि भान्साको जग मानिने घ्यू तथा तेलको मूल्य सूचकाङ्क १२.८७ प्रतिशत, फलफूलको ११.६७ प्रतिशत र तरकारीको मूल्य ९.१८ प्रतिशतले आकासिएर खाद्य समूहको महँगी उच्च बिन्दुमै स्थिर रह्यो।
यसैबीच, मुलुकमा फागुन २१ को निर्वाचनमार्फत करिब दुई तिहाइको बलियो बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ सरकार गठन भएसँगै आम उपभोक्तामा बजारको बेथिति र अनियन्त्रित महँगी अन्त्य हुने ठूलो आशा र अपेक्षा पलाएको थियो।
नयाँ दल र बलियो सरकारले बजार अनुगमनलाई तीव्र पार्दै कालोबजारी र बिचौलियाको जालो तोड्ने विश्वास सर्वसाधारणले गरे पनि वास्तविकता भने सोचेजस्तो सहज देखिएन। सरकार गठनपछिका महिनाहरूमा पनि मूल्यवृद्धिको यो आक्रामक ग्राफ रोकिनुको साटो झन् भयावह बन्दै गयो।
अन्ततः २०८३ वैशाख महिनामा आइपुग्दा बजारको महँगीले विगतका सबै रेकर्ड तोड्दै ५.०४ प्रतिशतको उच्च विन्दु छोएको छ। वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहले समग्र महँगीलाई समेत माथ दिँदै फलफूल उप–समूहमा १८.६० प्रतिशत र घ्यू तथा तेलमा १३.९९ प्रतिशतको भयानक वृद्धिदर कायम गरेको छ। यसका साथै तरकारीमा ५.४० प्रतिशत र माछा तथा मासुमा ४.१६ प्रतिशतले मूल्य थपिएको छ।
विभिन्न आन्तरिक आपूर्ति अवरोध, कमजोर बजार नियमन र मध्यपूर्वको युद्धका कारण इन्धनसहित अन्तर्राष्ट्रिय बजारमा चर्किएको मूल्यवृद्धिको चौतर्फी असर नेपालको भान्सासम्म आइपुग्दा महँगी थप अनियन्त्रित हुन पुगेको हो।
साउनको १.६८ प्रतिशतबाट सुरु भएको महँगीको यो ऐतिहासिक सूचकाङ्क वैशाखमा ५ प्रतिशत नाघ्नुले राजनीतिक नेतृत्व बदलिए पनि दुई छाक टार्नका लागि संघर्ष गरिरहेका आम नेपाली उपभोक्ताको कारुणिक दैनिकी र सास्ती भने अझै बदलिएको छैन भन्ने स्पष्ट देखिन्छ।















