इप्पानको वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न २ लाख, सदस्य बन्न एक लाख « Arthapath.com
२८ जेष्ठ २०८३, बिहिबार

इप्पानको वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न २ लाख, सदस्य बन्न एक लाख



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समितिले उम्मेदवारी मनोनयन शुल्क र निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

निर्वाचन समितिको पछिल्लो निर्णय अनुसार, विभिन्न पदका लागि उम्मेदवारी शुल्क १ लाखदेखि २ लाख रुपैयाँसम्म तोकिएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको शुल्क विवरण अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवार बन्न २ लाख रुपैयाँ मनोनयन शुल्क लाग्नेछ । संस्थाको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान रहेकाले अध्यक्ष बाहेकका अन्य पदहरूमा निर्वाचन हुन लागेको हो ।

त्यस्तै, ५ जना उपाध्यक्ष, १ जना महासचिव, १ जना उप–महासचिव, ५ जना सचिव र १ जना कोषाध्यक्ष पदका उम्मेदवारका लागि जनही १ लाख ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ७ जना खुल्ला सदस्य र ३ जना महिला सदस्य पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । मनोनयन फारमको दस्तुर भने थप १ सय रुपैयाँ लाग्नेछ ।

इप्पानको २४औँ वार्षिक साधारण सभाको अवसरमा आगामी २०८३ जेठ २९ गते नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ । संशोधित कार्यतालिका अनुसार जेठ २८ गते बिहान ८:०० देखि ११:०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।

सोही दिन दाबी विरोध र नाम फिर्ताको प्रक्रिया सम्पन्न गरी साँझ ६:०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदान कार्यक्रम होटल याक एण्ड यति, दरबारमार्गमा साधारण सभाको बन्द सत्र सकिएलगत्तै सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवार बन्नका लागि सम्बन्धित जलविद्युत कम्पनी वा संस्थाको सञ्चालक समितिले निर्णय गरी पठाएको सञ्चालक, सदस्य वा कार्यकारी प्रमुख हुनुपर्ने अनिवार्य गरिएको छ । उम्मेदवारले मनोनयनका साथमा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि कम्पनीको आधिकारिक प्रतिनिधि पत्र र सरकारी परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

साथै, प्रत्येक उम्मेदवारको एक जना प्रस्तावक र एक जना समर्थक हुनुपर्नेछ, जसले एउटै पदमा एकभन्दा बढी उम्मेदवारलाई समर्थन गर्न पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस्