इप्पानको चुनाव: वरिष्ठ उपाध्यक्षमा उत्तम र बलराम गरी दुई प्यानल मैदानमा « Arthapath.com
२८ जेष्ठ २०८३, बिहिबार

इप्पानको चुनाव: वरिष्ठ उपाध्यक्षमा उत्तम र बलराम गरी दुई प्यानल मैदानमा



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्व चयनका लागि चुनावी सरगर्मी निकै बढेको छ । जेठ २९ गते (भोली) हुने संस्थाको २४औँ साधारण सभा र निर्वाचनलाई लक्षित गर्दै अहिले चुनावी मैदानमा दुई सशक्त प्यानल देखा परेका छन् ।

इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष पदमा विजयी हुने व्यक्ति स्वतह अध्यक्ष बन्ने भएकाले गर्दा अहिलेका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी अध्यक्ष बन्दै छन् ।

इप्पानको अहिले वरिष्ठ उपाध्यक्षको पदमा हालका उपाध्यक्ष उत्तम भ्लोन र कार्यसमितिका महासचिव बलराम खतिवडाले आफ्नो प्यानल बनाएर चुनावी मैदानमा छन् ।

खतिवडाको प्यानलमा उपाध्यक्षहरूमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल र दीपक पौडेल रहेका छन् भने महिला उपाध्यक्षमा सिर्जना खड्का उम्मेदवार छिन् । त्यसैगरी, महासचिवमा प्रकाशचन्द्र दुलाल, कोषाध्यक्षमा मिथुन पौडेल र सचिवहरूमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र इशा श्रेष्ठ रहेका छन् । खतिवडाको टिममा सोमनाथ कँडेल, डा. भुषण गुरागाईं लगायतका सदस्य उम्मेदवार रहेका छन् ।

अर्कोतर्फ, इप्पानका वर्तमान उपाध्यक्ष भ्लोनको प्यानलमा भने उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, हिम पाठक, सुसन कर्माचार्य र बिक्रम विष्ट रहेका छन् । महासचिवमा टिएन आचार्य, उपमहासचिवमा कविता कडेल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तलाई अघि सारिएको छ । भ्लोनको टिमका सचिव पदमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ल रहेका छन् ।

इप्पानमा हाल वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था रहे तापनि यस विधान संशोधनको विषयमा संस्थाभित्र केही मतभेद र विवाद कायमै छ । यद्यपि, आगामी साधारणसभा भने अहिलेकै विधानअनुसार हुने भएकाले दुवै पक्ष चुनावी अभियानमा तीव्र रूपले होमिएका छन् ।

ऊर्जा उत्पादकहरूले नयाँ नेतृत्वबाट नीतिगत सहजीकरण र क्षेत्रको विकासका लागि ठोस कदमको अपेक्षा गरेका छन् । जेठ २९ गते हुने निर्वाचनले इप्पानको आगामी नेतृत्वको बागडोर कसको हातमा सुम्पिनेछ त्यसको निर्णय गर्नेछ । दुवै प्यानलले आ–आफ्ना चुनावी घोषणापत्र र योजनाहरूसहित सदस्यहरूको समर्थन बटुल्न सक्रियता देखाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्