साउदी र रुसलाई पछार्दै अमेरिका कसरी बन्यो विश्वकै ठूलो तेल निर्यातक ? « Arthapath.com
२८ जेष्ठ २०८३, बिहिबार

साउदी र रुसलाई पछार्दै अमेरिका कसरी बन्यो विश्वकै ठूलो तेल निर्यातक ?



कुनै बेला अरब देशहरूको तेल नाकाबन्दीको शिकार बनेको अमेरिका अहिले साउदी अरब र रुसलाई पछाडि पार्दै विश्वकै सबैभन्दा ठूलो तेल निर्यातक मुलुक बनेको छ।

काठमाडौँ । अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल निर्यातक देश बनेको छ। यसले साउदी अरब र रुसको दशकौँ पुरानो बर्चस्वलाई उल्ट्याइदिएको छ। वासिङ्टन र इरानबीच जारी युद्धले विश्वव्यापी ऊर्जा व्यापारको स्वरूप बदलिरहेका बेला यो नयाँ परिवर्तनले ऊर्जा बजारमा अमेरिकी कम्पनीहरूको पकड अझ बलियो बनाएको छ।

शीर्ष स्थानमा अमेरिकाको यो उदय इतिहासकै एउटा चकित पार्ने उल्टो फेरबदल हो। कुनै समय अमेरिका दशकौँसम्म पश्चिम एसियाली देशहरूको तेलमा निर्भर थियो।

सन् १९७३ मा इजरायललाई सहयोग गरेको भन्दै पेट्रोलियम निर्यातक देशहरूको सङ्गठन (ओपेक) का केही सदस्यले अमेरिकामाथि तेल नाकाबन्दी लगाएका थिए, जसका कारण उसले ठूलो सङ्कट भोगेको थियो।

तेल बजारमा ऐतिहासिक मोड

अमेरिकी भाग्यको रेखा सन् २०१० पछि बदलिन सुरु भएको हो। त्यतिबेला अमेरिकाको ‘सेल फर्मेसन’ (चट्टानी भाग) बाट तेल र ग्यासको उत्पादन ह्वात्तै बढ्यो। यसले अमेरिकालाई सुरुमा विश्वकै सबैभन्दा ठूलो ग्यास उत्पादक र पछि विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक बनायो।

सन् २०२६ को फेब्रुअरीदेखि सुरु भएको अमेरिका-इरान युद्धका कारण साउदी अरबको तेल निर्यातमा अवरोध पुगेको छ। अर्कोतर्फ, युक्रेनमाथि आक्रमण गरेकै कारण मस्कोमाथि लगाइएको अमेरिकी प्रतिबन्धले रुसी तेल निर्यात पनि प्रभावित भएको छ।

यी दुई घटनाक्रमका बीच अमेरिका विश्वकै प्रमुख तेल निर्यातक देश बन्न पुगेको हो।

जहाजहरूको आवागमन निगरानी गर्ने संस्था ‘वोर्टेक्सा’ को तथ्याङ्क अनुसार उच्च उत्पादन र आफ्नो रणनीतिक भण्डारबाट तेल बजारमा पठाइएका कारण गत मे (बैशाख–जेठ) महिनामा अमेरिकाको कच्चा र प्रशोधित तेलको निर्यात प्रतिदिन लगभग १ करोड ५ लाख ब्यारेल पुगेको छ।

यससँगै अमेरिका लगातार तेस्रो महिना पनि विश्वकै शीर्ष निर्यातक बनेको छ। रोयटर्सको हिसाब अनुसार मे महिनामा रुसको निर्यात प्रतिदिन ७० लाख ब्यारेल थियो भने वोर्टेक्साका अनुसार साउदी अरबको निर्यात प्रतिदिन ५९ लाख ब्यारेलमा सीमित भएको थियो।

यसको तुलनामा, सन् २०२५ मा साउदी अरबले प्रतिदिन झण्डै ८१ लाख ब्यारेल तेल निर्यात गरेको थियो। त्यतिबेला अमेरिकाले ६६ लाख ब्यारेल र रुसले ५८ लाख ब्यारेल प्रतिदिन तेल निर्यात गरेका थिए।

केपलर नामको जहाज ट्र्याकिङ कम्पनीकी नीति प्रमुख मिसेल ब्रुहार्डलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ, “वासिङ्टनसँग एउटा यस्तो नयाँ हतियार आएको छ, जुन इरान युद्ध अघिसम्म उनीहरूलाई महसुस नै थिएन र त्यो हतियार ऊर्जा निर्यात हो।”

ओपेकको शक्ति कमजोर हुने सङ्केत

अमेरिकाको यो नयाँ बर्चस्वले ओपेक र उसका सहयोगी देशहरूले तेल बजारको मूल्य निर्धारणमा ऐतिहासिक रूपमा उपभोग गर्दै आएको एकाधिकारलाई कमजोर बनाउन सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजारमा एकाधिकार जमाएको भन्दै लामो समयदेखि ओपेकको आलोचना गर्दै आएका छन्।

यो सङ्गठनलाई गत मे महिनामा अर्को ठूलो झट्का लाग्यो, जब यसको एउटा ठूलो सदस्य संयुक्त अरब इमिरेट्स (यूएई) झण्डै ६० वर्षपछि यो संस्थाबाट बाहिरियो।

सबैभन्दा ठूलो तेल निर्यातकको उपाधिले वासिङ्टनलाई आफ्ना सहयोगी र विरोधी देशहरूसँग वार्ता गर्दा एउटा शक्तिशाली नयाँ हतियार दिनेछ। यसबाहेक अमेरिकी डलर विश्वको सञ्चित मुद्रा भएका कारण वित्तीय बजारमा उसको बर्चस्व र विश्वव्यापी सैन्य सर्वोच्चता त छँदैछ।

ब्रुहार्डका अनुसार अहिले केही देशहरू तेल वा ग्यासका लागि अमेरिकामै निर्भर हुन थालेका छन्। यसबाट ती देशहरूमाथि अमेरिकाको कति ठूलो प्रभाव छ भन्ने प्रष्ट देखिन्छ। उनले अमेरिका युरोपका लागि कच्चा तेलको सबैभन्दा ठूलो र अन्य प्रशोधित तेल (डिस्टिलेट) को दोस्रो ठूलो आपूर्तिकर्ता भएको पनि बताएकी छिन् ।

युरोपेली सङ्घ (ईयू) का अधिकारीहरूले सुरुमा रुस र खाडी क्षेत्रको विकल्पका रूपमा अमेरिकी तेल र ग्यासको उदयलाई स्वागत गरेका थिए। तर अहिले उनीहरू सशङ्कित हुन थालेका छन् र अमेरिकी कम्पनीहरूमाथि बढी निर्भर हुनुका जोखिमबारे चेतावनी दिन थालेका छन्।

यो चेतावनी त्यतिबेला आएको हो जब व्यापार महशुल र हरित नियमहरूलाई लिएर ईयू र अमेरिकी प्रशासनबीच विवाद चलिरहेको छ।

उता मस्कोलाई पनि आफ्नो निराशा लुकाउन गाह्रो भइरहेको छ। क्रेमलिनको सरकारी तेल कम्पनी ‘रोसनेफ्ट’ का प्रमुख तथा राष्ट्रपति भ्लादिमिर पुटिनका निकै नजिकका सहयोगी इगोर सेचिनले यसै महिना भनेका थिए– स्ट्रेट अफ हर्मुज बन्द हुनुको सबैभन्दा ठूलो फाइदा अमेरिकी ऊर्जा कम्पनीहरूले उठाएका छन्।

उत्पादन वृद्धिमा अमेरिका अगाडि

तर अमेरिका-इरान युद्ध सुरु हुनुभन्दा धेरै अघिदेखि नै साउदी अरब र रुस उत्पादन वृद्धिका मामलामा अमेरिकी कम्पनीहरूभन्दा धेरै पछाडि परिसकेका थिए।

सन् २००० यता अमेरिकामा कच्चा र तरल पदार्थको उत्पादन झण्डै तीन गुणा बढेर प्रतिदिन २ करोड २० लाख ब्यारेल पुगेको छ। यसको विपरीत, साउदी अरबको उत्पादन सन् २००० देखि २०२६ को बीचमा ओपेकको कोटा निर्धारणका कारण प्रतिदिन १ करोड देखि १ करोड २० लाख ब्यारेलको वरपर मात्रै तलमाथि भइरह्यो।

रुसको तेल र तरल पदार्थको उत्पादन सन् २००० देखि २०१० को बीचमा प्रतिदिन ६० लाख ब्यारेलबाट बढेर १ करोड ब्यारेल पुगेको थियो। सन् २०१० को दशकमा यो थप २० लाख ब्यारेलले बढ्यो। तर सन् २०२० यता यो उत्पादन ठप्प जस्तै भयो र घटेर प्रतिदिन १ करोड ब्यारेल भन्दा तल झर्‍यो।

गत वर्ष विश्वभर तेलको माग बढेर प्रतिदिन १० करोड ४० लाख ब्यारेल पुगेको थियो, जुन सन् २०१० मा ८ करोड ७० लाख ब्यारेल मात्रै थियो। यसको अर्थ विगत १५ वर्षमा विश्व बजारमा बढेको तेलको मागको ठूलो हिस्सा अमेरिकी तेल उत्पादनको वृद्धिको कारणले नै पूरा भएको छ।

बजारको आफ्नै संयन्त्र

सन् २०१५ मा अमेरिकाले अरब देशहरूको तेल नाकाबन्दीका बेलादेखि लगाउँदै आएको ४० वर्ष पुरानो तेल निर्यात प्रतिबन्धलाई खारेज गरेको थियो। यसले उसको तेल व्यापारलाई विश्व बजारमा फैलाउने ढोका खोलिदियो। त्यसको १० वर्षपछि अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल निर्यातक बनेको छ।

यसले तेलका खानीहरू रित्तिँदै जाँदा यो वृद्धि धेरै समय टिक्ने छैन भन्ने संशयवादीहरूलाई गलत प्रमाणित गरिदिएको छ।

साउदी अरब र रुसमा सरकारले नै पूर्ण वा आंशिक रूपमा तेलको उत्पादन र निर्यातको लक्ष्य तय गर्ने गर्छन्। तर अमेरिकाको तेल उत्पादनको फड्को निजी कम्पनीहरूको निर्णयमा भर पर्छ र यो मुख्य रूपमा नाफाबाट निर्देशित हुन्छ।

सन् २०२२ मा युक्रेन युद्ध सुरु भएयता युरोपेली देशहरू अमेरिकामै बढी निर्भर हुन थालेका छन्। यो वर्ष अहिलेसम्म अमेरिकाको कुल तेल निर्यातको झण्डै ४७ प्रतिशत हिस्सा युरोपले लिएको छ, जुन सन् २०२१ मा ३७ प्रतिशत मात्रै थियो।

एशियाली देशहरू, जसले पहिले आफ्नो अधिकांश कच्चा तेल मध्यपूर्वबाट किन्ने गर्थे, उनीहरू पनि अहिले आपूर्तिका लागि अमेरिकामै बढी निर्भर हुन थालेका छन्। गत मे महिनामा अमेरिकाको तेल निर्यातको झण्डै ४६ प्रतिशत हिस्सा एशियामा गएको थियो, जबकि गत वर्ष यो हिस्सा झण्डै ३७ प्रतिशत मात्रै थियो।


प्रतिक्रिया दिनुहोस्