इप्पानको महाधिवेशन भोलि: दुई प्यानल घोषणासँगै चुनावी सरगर्मी उत्कर्षमा, २४ पदमा उम्मेदवारी दर्ता
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन भोलि जेठ २९ गते हेरिटेज प्लाजा, कमलादी, काठमाडौँमा हुँदैछ।
उक्त अधिवेशनले संस्थाको नयाँ कार्यसमिति चयन गर्ने भएपछि चुनावी प्रतिष्पर्धा निकै रोचक बनेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेसँगै दुईवटा छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएपछि ऊर्जा क्षेत्रमा सरगर्मी ह्वात्तै बढेको छ।
खासगरी वरिष्ठ उपाध्यक्ष पदका लागि संस्थाका महासचिव बलराम खतिवडा र उपाध्यक्ष समेत रहेका उत्तम भ्लोन लामाले छुट्टाछुट्टै प्यानल बनाएर आफ्नो चुनावी टिम घोषणा गरेका छन्। २४ वटा पदका लागि हुन लागेको यस निर्वाचनमा दुवै पक्ष आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन्।
बलराम खतिवडाले वरिष्ठ उपाध्यक्षमा सशक्त दाबी गर्दै आफ्नो टिम घोषणा गरेका छन्। बराह मल्टिपावर लिमिटेडका खतिवडाको नेतृत्वमा रहेको यस प्यानलबाट उपाध्यक्ष पदका लागि भरतबहादुर खत्री (आरती पावर कम्पनी लि.), भरत प्रसाद नेपाल (माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लि.), कुमार खरेल (सिल्क पावर प्रालि) र दीपक पौडेल (सानीभेरी हाइड्रोपावर कम्पनी प्रालि) मैदानमा उत्रिएका छन्।
त्यस्तै, फेदीखोला हाईड्रो पावर कम्पनीका प्रकाशचन्द्र दुलालले महासचिव पदमा र देव ढुंगा मालिका हाइड्रोपावर कम्पनी प्रालिका मिथुन चक्रवर्ती प्रसाद पौडेलले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
यसै प्यानलबाट सचिव पदका लागि विकास हाइड्रोपावर कम्पनी लिमिटेडका कृष्ण प्रसाद घिमिरे, रंगुन खोला हाइड्रोपावरका बिरेन्द्र बहादुर मल्ल र निलगिरी खोला हाईड्रोपावर कम्पनीकी इशा श्रेष्ठ चुनावी प्रतिष्पर्धामा छन्।
खतिवडा समूहका तर्फबाट सदस्य पदहरूमा पनि बलियो टिम चुनावी मैदानमा उतारिएको छ। यस प्यानलबाट खुला तथा महिला सदस्य पदका लागि हिमाली हाइड्रो फण्डका सोमनाथ कँडेल, वरुण हाइड्रोपावर कम्पनीका डा. भूषण गुरागाई, एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रालिका सन्तोषराज नेपाल, अरुण भ्याली डेभलपमेन्ट हाइड्रोपावरका मिलन खड्का, वाटर इनर्जी सोलेसनका जगदीश शिवाकोटी, दुध पोखरी चेपे हाइड्रोपावरका नारायण कँडेल, सानिमा जुम हाइड्रोपावरका सुकुन्द ओझा, मिजु इनर्जीकी ज्योती गैरे, कालिन्चोक हाइड्रोपावरकी इन्दिरा पन्त र स्याँपु पावर कम्पनी लिमिटेडका प्रदीप ओलीले उम्मेदवारी दिएका छन्।
त्यस्तै, महिला सदस्य पदतर्फ अपि पावर कम्पनी लिमिटेडकी सिर्जना खड्का र हार्मुनी इनिसिएटिभ्स प्रालिकी संगीता धमला खतिवडा प्यानलबाटै चुनावी मैदानमा छन्।
अर्कातर्फ, सिद्विद्वि होल्डिङ्ग्स लि. का उत्तम भ्लोन लामा नेतृत्वको वरिष्ठ उपाध्यक्ष प्यानलले पनि आफ्नो चुनावी टिम घोषणा गरेर बलियो चुनौती खडा गरेको छ। यस लामा प्यानलबाट उपाध्यक्षहरूमा मादमे खोला हाइड्रोपावर लि. का सुसन कर्माचार्य, साहस उर्जा लि. का हिम प्रसाद पाठक, इसुवा इनर्जी प्रालिका विक्रम विष्ट र ठुलोखोला हाइड्रोपावरका नरेन्द्र वल्लभ पन्त चुनावी प्रतिष्पर्धामा छन्। त्यस्तै, भिजन ईनर्जी एण्ड पावरका टेकनाथ आचार्यले महासचिव पदमा मनोनयन दर्ता गराएका छन् भने मध्य ताराखोला हाइड्रोपावरका शंकर बस्यालले कोषाध्यक्ष पदमा लामा प्यानलबाटै उम्मेदवारी दिएका छन् ।
यता हिमसिला पावर कम्पनीकी कविता पोखरेलले उपमहासचिव पदमा निर्विरोध निर्वाचित भइसकेकी छन् ।
लामा प्यानलले सचिव र सदस्य पदहरूमा पनि आफ्ना उम्मेदवारहरूलाई बलियो रूपमा अगाडि सारेको छ। यस समूहबाट सचिव पदका लागि रिडी पावर कम्पनीका कुवेरमणि नेपाल, युनीयन हाइड्रोपावरकी अभिज्ञा मल्ल, मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका विजय मोहन भट्टराई र धौलाश्री पावर कम्पनी लिमिटेडकी सुमन कुमारी जोशी चुनावी मैदानमा छन्।
त्यसैगरी सदस्य पदहरूका लागि एमए पावर लिमिटेडका अनुप आचार्य, भिजन लुम्बिनी उर्जा कम्पनीका जगत बहादुर पोखरेल, दुधकोशी हाइड्रोपावर नेपालका कदम के.सी. र नार खोला हाइड्रो इनर्जी प्रालिका वर्णन लामिछाने मैदानमा उत्रिएका छ भने महिला सदस्य पदतर्फ ओएसआर हाइड्रो प्रालिकी प्रतिमा ज्ञवालीले उम्मेदवारी दिएकी छन्।














