अमेरिकी आक्रमणपछि इरानको चर्को बदला : जोर्डन र कुवेतमा क्षेप्यास्त्र वर्षा, होर्मुज स्ट्रेट बन्द « Arthapath.com
२८ जेष्ठ २०८३, बिहिबार

अमेरिकी आक्रमणपछि इरानको चर्को बदला : जोर्डन र कुवेतमा क्षेप्यास्त्र वर्षा, होर्मुज स्ट्रेट बन्द



अमेरिकी हमलापछि इरानले स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द गर्दै खाडी क्षेत्रका अमेरिकी सैन्य अखडामा ठूलो प्रहार गरेपछि पश्चिम एसिया युद्ध पुन: एक पटक चरम उत्कर्षमा पुगेको छ।

काठमाडौँ । फारसको खाडी वरपर जारी युद्धको १०४ औं दिनमा अमेरिका र इरानबीचको सैन्य टकराव खतरनाक मोडमा पुगेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानभित्रका विभिन्न ठेगानामा ‘आत्मरक्षा’ का लागि भन्दै ठूला हमलाहरू गरेपछि इरानले पनि व्यापक रूपमा जवाफी कारबाही सुरु गरेको छ। इरानको स्लामिक रिभोल्युसनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले खाडी क्षेत्रमा रहेका अमेरिकी सेनालाई निसाना बनाउँदै कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा पानीजहाज र स्थल मार्गबाट घातक प्रहार गरिएको बताएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी रक्षा सचिव पिट हेगसेथले फ्लोरिडास्थित सेन्टकम मुख्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका मुख्य सैन्य संरचनाहरूमा कडा प्रहार गरिएको पुष्टि गरेका छन्।

उनले स्थायी युद्धविरामको प्रयास स्वरूप यो आक्रमण गरिएको दाबी गर्दै आवश्यक परे लगातार दोस्रो रात पनि आक्रमण जारी रहने चेतावनी दिएको अल-जजिराले लेखेको छ।

यसअघि ट्रम्पले इरानलाई सम्झौताका लागि धेरै समय लगाएको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए। ट्रम्पको चेतावनी लगत्तै अमेरिकाले इरानको बन्दर अब्बास बन्दरगाह सहर, केसिम टापु, सिरीक, मिनाब र राजधानी तेहरानको पश्चिमतर्फ पर्ने काराज लगायतका क्षेत्रमा बमबारी गरेको थियो।

अमेरिकी हमलामा इरानको हर्मोजगान प्रान्तमा रहेको सिरीक काउन्टीमा नागरिकको खानेपानी पूर्वाधारमा क्षति पुगेको छ, जहाँ दुईवटा कंक्रिटका पानी ट्याङ्की ध्वस्त भएका छन्। अन्तर्राष्ट्रिय मानवीय कानुनले नागरिक खानेपानी पूर्वाधारलाई संरक्षित क्षेत्र माने पनि अमेरिकाले सटिक प्रहार गर्ने हतियार प्रयोग गरी ट्याङ्कीहरू फुटाएको विवरण सार्वजनिक भएको छ।

तर आक्रमणको १२ घण्टाभित्रै उक्त क्षेत्रमा पानी आपूर्ति सुचारु गरिएको इरानी अधिकारीहरूले बताएका छन्। तेहरानबाट प्राप्त रिपोर्टहरू अनुसार धेरैजसो इरानी नागरिकहरू वार्ताको चर्चाका बीच पनि अमेरिकी आकस्मिक हमलाको त्रासमा बाँचिरहेका थिए।

स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द

अमेरिका र इरानबीचको यो भिडन्त लगातार तेस्रो रात पनि जारी रहेको हो। पहिलो रात इजरायल र इरानबीच गोलाबारी भएको थियो भने दोस्रो रात अमेरिका र इरान आमनेसामने भएका थिए।

तेस्रो रात अमेरिकाले सिधै इरानी भूमिमा धावा बोलेपछि आईआरजीसीले विश्वकै सबैभन्दा संवेदनशील तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ होर्मुजलाई व्यापारिक जहाज र तेल ट्याङ्करसहित सबैका लागि पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।

अमेरिकी सेनाले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इरानले अब उक्त जलक्षेत्रमा आउने जुनसुकै जहाजलाई पनि सत्रु देशलाई सहयोग गरेको रूपमा व्याख्या गरिने र आक्रमणको निसाना बनाइने चेतावनी दिएको छ। यसअघि निकै सीमित संख्यामा जहाजहरूलाई मात्र आवतजावतको अनुमति दिइएको भए पनि अब यो मार्ग पूर्ण रूपमा ठप्प पारिएको छ।

यसैबीच ओमानको खाडीमा एक इरानी मालवाहक जहाजमा अमेरिकी क्षेप्यास्त्र बजारिएको छ। ओमानको खसाब बन्दरगाहबाट आवश्यक सामग्री बोकेर हिँडेको १५० टन क्षमताको उक्त जहाजमा सिरीक काउन्टी नजिकै आक्रमण भएको हो।

जहाजका पाँचै जना चालक दलका सदस्यहरूलाई भने अन्य जहाजको सहयोगमा उद्धार गरी ओमान पुर्‍याइएको छ। ओमानस्थित भारतीय दूतावासले पनि शिनास बन्दरगाह नजिकै जहाज दुर्घटना भएकोबारे जानकारी पाएको र स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ।

अन्तर्राष्ट्रिय समुदायमा खैलाबैला

इरानले जोर्डनमा रहेको अमेरिकी अल-अजराक वायुसेना अखडालाई निसाना बनाउँदै लगातार दोस्रो रात पनि १२ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जोर्डनी सेनाले कडा प्रतिरोध गरेको छ।

जोर्डनको आधिकारिक सञ्चारमाध्यम पेट्राका अनुसार सेनाले इरान तर्फबाट आएका २० वटा क्षेप्यास्त्रहरूलाई आकाशमै सफलतापूर्वक नष्ट गरिदिएको छ। क्षेप्यास्त्रका भग्नावशेषहरू जमिनमा खसे पनि कुनै मानवीय वा भौतिक क्षति नभएको र सेनाको इन्जिनियरिङ टोलीले विष्फोटक पदार्थ निष्क्रिय पारेको बताइएको छ।

इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी अखडामा गरेको आक्रमणको कतारले कडा शब्दमा निन्दा गरेको छ। कतारको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कुवेत, बहराइन र जोर्डनमा भएका यी आक्रमणहरूलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन र ती देशहरूको सार्वभौमसत्ता माथिको प्रहार भनिएको छ।

गाजा र लेबनानमा विनाश जारी

इरानमा अस्थायी युद्धविराम निष्प्रभावि हुँदै गर्दा अर्कोतर्फ इजरायलले गाजा र लेबनानमा आफ्नो हिंस्रक सैन्य अभियानलाई रोकेको छैन। लेबनानको दक्षिणी क्षेत्र र बेका उपत्यकामा बुधबार भएका इजरायली आक्रमणहरूमा धेरै मानिसहरू मारिएका छन्।

गत मार्च महिनायता मात्र लेबनानमा इजरायली बमबारीका कारण ज्यान गुमाउनेको संख्या ३,६९६ पुगेको अन्तरराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्