एआईले निम्त्याएको वित्तीय आँधीः ‘डिजिटल ट्रष्ट’ उद्योगमा खर्बौं डलरको लगानी आवश्यक!
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) निर्मित झुटा सामग्रीका कारण ऊर्जा र वित्तीय बजारमा तीव्र अस्थिरता बढेपछि विश्वव्यापी ‘डिजिटल ट्रष्ट’ उद्योगको आकार सन् २०३२ सम्ममा ३३ खर्ब ७५ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।
विश्व बजारमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा उत्पादित भ्रामक सामग्रीका कारण ऊर्जा तथा वित्तीय क्षेत्रमा गम्भीर चुनौती थपिएको छ।
सन् २०२६ को दोस्रो त्रैमासिकमा इरान युद्धको घटनाक्रमलाई लिएर शंकास्पद समयमा गरिएका तेल व्यापारबाट केही व्यापारीले अस्वाभाविक नाफा कमाएको विवरण सार्वजनिक भएपछि यो विषय बहसमा आएको हो।
साउदी अरबका तेल सुविधाहरूमा आक्रमण भएको भन्ने जस्ता एआई निर्मित झुटा समाचारले कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव ल्याउने गरेको विज्ञहरूले बताएका छन्। यसै पृष्ठभूमिमा ‘डिजिटल ट्रष्ट’ (डिजिटल विश्वसनीयता) उद्योगको आकार हालको ५३५ अर्ब डलरबाट वृद्धि भई सन् २०३२ सम्ममा ३३ खर्ब ७५ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।
यसै बजारलाई लक्षित गरी हाइडावे डिजिटल कर्पोरेसनले वित्तीय बजारमा संस्थागत विश्वास कायम राख्न ‘रियालिटीचेक’ नामक नयाँ प्रविधि खरिद गरेको छ। संस्थागत तहमा विश्वसनीय सूचना प्रवाह नहुँदा वित्तीय बजारको स्थायित्वमा धक्का लाग्ने भन्दै कम्पनीले ठूला घटनाहरूको तत्कालै (रियल-टाइम) प्रमाणीकरण गर्ने प्रणाली विकास गरेको जनाएको छ।
एआई सामग्रीको बाढी र बजारमा त्यसको प्रभाव
सन् २०२२ मा जेनेरेटिभ एआईको विकास भएयता हालसम्म १५ अर्बभन्दा बढी एआई निर्मित तस्बिरहरू सञ्चालनमा आइसकेका छन्। तथ्याङ्कअनुसार अहिले विश्वभर दैनिक ३ करोड ४० लाखभन्दा बढी एआई तस्बिरहरू उत्पादन हुने गर्छन्। विभिन्न अध्ययनहरूले करिब ४० प्रतिशत अवस्थामा सर्वसाधारणहरू एआईले बनाएका तस्बिरहरूबाट भ्रमित हुने गरेको देखाएका छन्।
सन् २०२६ मा मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा तेल अभिभमा क्षेप्यास्त्र प्रहार भएको दाबी गरिएका भिडियोहरू केही घण्टामै लाखौँ पटक हेरिएका थिए, जुन पछि अल्जियर्समा फुटबल खेलको जितको खुसीयाली मनाउँदा पड्काइएका पटाकाको भिडियो भएको पुष्टि भयो।
त्यस्तै, बुर्ज खलिफा आगोको चपेटामा परेको देखिने पूर्ण रूपमा एआई निर्मित भिडियो पनि सामाजिक सञ्जालमा करोडौँ पटक हेरियो। यस्ता गलत सूचनाहरू भू-राजनीतिक द्वन्द्व र वस्तुहरूको मूल्य निर्धारणमा ठोक्किँदा वित्तीय जोखिम उच्च हुने गरेको छ। हालै इरानको संसदका सभामुखले पनि अमेरिकामाथि वार्ता र द्वन्द्वका झुटा प्रतिवेदनमार्फत जानाजानी तेलको मूल्यमा चलखेल गरेको आरोप लगाएका थिए।
यस्तो समस्या समाधानका लागि हाइडावेले ‘डिटेक्ट’ नामक प्रमाणीकरण उपकरण सञ्चालनमा ल्याएको छ। यस प्रणालीले प्रयोगकर्ताले अपलोड गरेका तस्बिर वा लिंकहरूको पिक्सेल तह, मेटाडेटा, फ्रिक्वेन्सी ढाँचा र कम्प्रेसन व्यवहारको विश्लेषण गरी सामग्रीको आधिकारिकता तत्कालै जाँच गर्छ।
हाइडावेका मुख्य कार्यकारी अधिकृत (सीईओ) कार्ल कोट्टमेयरले तीव्र रूपमा फैलिरहेको एआईजन्य गलत सूचनालाई रोक्न डिटेक्ट प्रविधि फरेन्सिक उपकरणका रूपमा उपयोगी हुने बताए।
डिजिटल पहिचान र ठगी नियन्त्रण बजारको वित्तीय प्रक्षेपण
रियालिटीचेकको डिटेक्ट प्रणालीलाई वित्तीय संस्था, सरकार, बीमा कम्पनी र सञ्चार माध्यमहरूमा प्रयोग गर्न सकिने गरी व्यवसायिक ग्राहक सदस्यता र एपीआई लाइसेन्सिङ मोडेलमा तयार पारिएको छ। यो प्रविधि हाल साइबर सुरक्षा कम्पनीको रूपमा पूँजी बजारमा एकीकृत भइसकेको छ।
तथ्याङ्कअनुसार विश्वव्यापी डिजिटल पहिचान (डिजिटल आइडेन्टिटी) बजार सन् २०३१ सम्ममा १७० अर्ब डलर पुग्ने अनुमान छ। त्यस्तै, पहिचान प्रमाणीकरण बजार सन् २०३५ सम्ममा ६५ अर्ब डलर र ठगी नियन्त्रण बजार सन् २०३०–२०३२ सम्ममा २५२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। हाइडावेको रियालिटीचेकसँग हाल ५० लाखभन्दा बढी डाटा पोइन्ट र २० लाखभन्दा बढी तस्बिरहरूको सङ्ग्रह रहेको छ।
वित्तीय संस्थाहरू र सरकारी क्षेत्रको लगानी
एआईको बढ्दो सुरक्षा चुनौतीसँग जुध्न बैंक तथा वित्तीय संस्थाहरूले ठगी नियन्त्रण र प्रमाणीकरणका पूर्वाधारमा ठूलो लगानी गरिरहेका छन्। बैंकहरूले सन् २०२५ मा मात्रै यस क्षेत्रमा २१ अर्ब डलर खर्च गरेका थिए भने सन् २०३० सम्ममा यो खर्च ४० अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
डेलोइटको सन् २०२६ को बैंकिङ परिदृश्य प्रतिवेदनअनुसार वित्तीय अपराधहरूको गति र जटिलता अत्यधिक बढेको छ। प्रतिवेदनका अनुसार बैंकहरूले आर्थिक वर्ष २०२४ मा मात्रै २६ लाख वटा शंकास्पद गतिविधिको प्रतिवेदन (सस्पिसियस एक्टिभिटी रिपोर्ट) बुझाएका थिए, जुन दैनिक करिब ७,१०० वटा हुन आउँछ।
एआईका माध्यमबाट मानिस जस्तै व्यवहार गर्ने र पहिचान लुकाउने प्रविधि बढेकाले परम्परागत प्रणालीहरू असुरक्षित हुँदै गएको डेलोइटले उल्लेख गरेको छ।
यो सुरक्षा जोखिम राष्ट्रिय सुरक्षाको विषय बनेकाले सरकारहरूले पनि साइबर सुरक्षा, शून्य विश्वास (जिरो ट्रष्ट) प्रणाली र डिजिटल लचिलोपनका लागि अर्बौँ डलर लगानी गरिरहेका छन्। यस बजारको विस्तारबाट पालान्टिर टेक्नोलोजिज, क्राउडस्ट्राइक र पालो अल्टो नेटवर्क जस्ता ठूला साइबर सुरक्षा कम्पनीहरूले पनि आफ्नो सेवा विस्तार गरिरहेका छन्।
तेलको मूल्य प्रतिब्यारेल १०० वा २०० डलर जे भए पनि, एआईको गतिमा फैलिने गलत सूचनाले परम्परागत प्रमाणीकरण प्रणालीहरूमाथि दबाब बढाएको र यसको समाधानका लागि नयाँ प्रविधि आवश्यक भएको देखिएको छ।
-एजेन्सी ।














