शाओमी १७ टी नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
काठमाडौं । शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १७ टी सार्वजनिक गरेको छ । उत्कृष्ट लाइका फाइभ एक्स क्यामेरा प्रविधि, उच्च क्षमताको ब्याट्री तथा आँखाको सुरक्षालाई प्राथमिकता दिएर विकसित गरिएको यो स्मार्टफोन आधुनिक प्रयोगकर्तालाई लक्षित गर्दै बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार शाओमी १७ टी मा अत्याधुनिक तस्वीर प्रविधिसहित लाइका फाइभ एक्स टेलिफोटो क्यामेरा प्रयोग गरिएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ, जसले उच्च गुणस्तरका तस्वीर खिच्न सक्ने कम्पनीको दाबी छ ।
फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन सुविधासहितको ५० मेगापिक्सेल टेलिफोटो क्यामेरा रहेको छ । यसले १० गुणासम्म अप्टिकल जुम तथा १२० गुणासम्म कृत्रिम बौद्धिकता आधारित जुम सुविधा उपलब्ध गराउने बताइएको छ ।
स्मार्टफोनमा फोर के ६० फ्रेम प्रति सेकेन्ड सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा पनि समावेश गरिएको छ । साथै ‘लाइभ मोमेन्ट’ सुविधाले कुनै दृश्यको भाव, गति र अभिव्यक्तिसमेत कैद गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
फोनमा १ दशमलव ५५ इन्च आकारको ठूलो इमेज सेन्सर प्रयोग गरिएको छ । लाइका समिलक्स लेन्स संरचनाले तस्वीरलाई अझ स्पष्ट र जीवन्त बनाउने दाबी गरिएको छ ।
त्यस्तै, लाइभ पोर्ट्रेट सुविधाले पोर्ट्रेट मोडमा प्राकृतिक पृष्ठभूमि धमिलो प्रभाव प्रदान गर्नेछ । विभिन्न सिनेमाटिक मोडले प्रयोगकर्तालाई सिर्जनात्मक भिडियो निर्माणमा सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।
शाओमी १७ टी मा पहिलो पटक ‘भिजन केयर’ प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ । ३ हजार ५ सय निट्ससम्मको चमक क्षमतायुक्त एमोलेड डिस्प्लेले वातावरणअनुसार प्रकाश समायोजन गर्दै आँखाको सुरक्षा गर्ने उल्लेख गरिएको छ । साथै यो फोन टीयूभी राइनल्याण्ड प्रमाणपत्र प्राप्त स्मार्टफोन पनि रहेको कम्पनीले जनाएको छ ।
फोनमा ६ हजार ५ सय एमएएच क्षमताको ब्याट्री तथा ६७ वाट फास्ट चार्जिङ सुविधा दिइएको छ । कम्पनीका अनुसार अघिल्लो पुस्ताको तुलनामा ब्याट्री क्षमता १८ प्रतिशतले वृद्धि गरिएको हो ।
स्मार्टफोन मिडियाटेक डाइमेन्सिटी ८५०० अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित रहेको छ । यसले बहुकार्य सञ्चालन, गेमिङ तथा कृत्रिम बौद्धिकतासम्बन्धी कार्यलाई थप सहज र प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।
नेपालमा शाओमी १७ टी बैजनी, निलो र कालो गरी तीन रंगमा उपलब्ध हुनेछ । १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ९८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
साथै, नेपालमा यो स्मार्टफोन खरिद गर्ने ग्राहकले रेडमी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।














