अमेरिकी प्रतिबन्धको काउन्टर: एआई चिपका लागि घरेलु कम्पनीतिर मोडियो टिकटकको माउ कम्पनी « Arthapath.com
१ असार २०८३, सोमबार

अमेरिकी प्रतिबन्धको काउन्टर: एआई चिपका लागि घरेलु कम्पनीतिर मोडियो टिकटकको माउ कम्पनी



अमेरिकी प्रतिबन्धका बीच टिकटकको माउ कम्पनी बाइटडान्सले एआई चिपका लागि चिनियाँ घरेलु कम्पनीहरूसँग ठूलो सम्झौता गर्दै।

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को ‘इन्फरेन्स’ अर्थात् नतिजा निकाल्ने कामका लागि एआई चिप खरिद गर्न साङ्घाईमा आधारित इलुभाटार कोरएक्ससँग कुराकानी गरिरहेको छ। यस मामिलाबारे जानकार दुईवटा स्रोतका अनुसार कम्पनीले यस्तै अर्को सम्झौताका लागि बाइडुसँग पनि विचार गरिरहेको छ।

यदि यो सम्झौता सफल भएमा बाइटडान्सका लागि हुवावे र क्याम्ब्रिकनपछि इलुभाटार कोरएक्स ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयूँ) आपूर्ति गर्ने तेस्रो ठूलो घरेलु कम्पनी बन्ने स्रोतले थपेका छन्। टिकटकको माउ कम्पनी बाइटडान्सले बाइडुको कुनलुनसिन चिप प्रयोग गर्ने विषयमा पनि विचार गरिरहेको छ।

यो कुराकानी अहिलेसम्म सार्वजनिक नभएकाले स्रोतहरूले आफ्नो नाम खुलाउन नचाहेको भनेर रोयटर्सले लेखेको छ। उसले स्रोतको हवाला दिँदै भनेको छ– अर्को चिनियाँ प्रविधि कम्पनी टेनसेन्ट यसअघि नै बाइडुको कुनलुनसिन चिपको ग्राहक बनिसकेको छ। यस विषयमा बाइटडान्स, इलुभाटार कोरएक्स, बाइडु र टेनसेन्टले कुनै प्रतिक्रिया दिएका छैनन्।

यी सम्भावित सम्झौताहरूले विदेशी एआई चिपको विकल्प खोज्ने चिनियाँ चिप निर्माताहरूको प्रयास सफल हुँदै गएको देखाउँछन्। उन्नत चिप्समा अमेरिकी निर्यात नियन्त्रण कडा बनेपछि बेइजिङले आत्मनिर्भरता बढाउन देशभित्रै विकसित चिपहरूको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ।

चिनियाँ जीपीयूँ र एआई चिप निर्माताहरूले गत वर्ष चीनको एआई एक्सेलेरेटर सर्भर बजारको झण्डै ४१ प्रतिशत हिस्सा ओगटेका थिए। यसले गर्दा कुनै समय चीनको बजारमा वर्चस्व जमाएको अमेरिकी कम्पनी एनभिडियाको पकड कमजोर बन्दै गएको छ। रोयटर्सले गत अप्रिलमा यसबारे रिपोर्ट छापेको थियो।

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङका अनुसार चीनमा एनभिडियाको बजार हिस्सा शून्यमा झरेको छ। यता टेनसेन्टका मुख्य रणनीति अधिकारी जेम्स मिचेलले गत मे महिनामा चिनियाँ एआई चिपहरू यसै वर्षको उत्तरार्धसम्ममा ठूलो मात्रामा उपलब्ध हुने बताएका थिए।

चीनको अग्रणी जीपीयूँ स्टार्टअपमध्येको एक इलुभाटार कोरएक्सले यसै वर्ष बाइटडान्सलाई कम्तीमा ५० हजार चिप्स उपलब्ध गराउने अपेक्षा गरिएको छ। बाइटडान्सले आफ्नो लोकप्रिय एआई च्याटबट ‘दौबाओ’ को प्रयोगकर्ताको संख्या बढाउँदै लगेकाले यीमध्ये अधिकांश चिपहरू ‘इन्फरेन्स’ सम्बन्धी कामका लागि प्रयोग हुने स्रोतले जनाएका छन्।

इन्फरेन्स भन्नाले प्रयोगकर्ताले सोधेका प्रश्नहरूको जवाफ दिने काम बुझिन्छ, जुन एआई मोडललाई तालिम दिने (ट्रेनिङ) कामभन्दा फरक हो। एआई मोडल ट्रेनिङका लागि सामान्यतया सबैभन्दा शक्तिशाली चिप्स आवश्यक पर्छ। यो सम्भावित सम्झौताको विवरण अझै अन्तिम भइनसकेकाले यसमा परिवर्तन हुनसक्ने स्रोतहरूको भनाइ छ।

व्यावसायिक सफलताको कोसेढुङ्गा

चीनकै सबैभन्दा ठूला प्रविधि कम्पनीहरूमध्येको एक र एआई पूर्वाधारमा ठूलो लगानी गरिरहेको बाइटडान्ससँग सम्झौता हुनु इलुभाटार कोरएक्सका लागि एउटा ठूलो व्यावसायिक कोसेढुङ्गा हुनेछ। शाङहाईमा रहेको यो कम्पनीले अहिलेसम्म मुख्य रूपमा सरकारी खरिद परियोजनाहरूमा मात्र चिप्स आपूर्ति गर्दै आएको स्रोतले बताए।

गत माघमा हङकङको सेयर बजारमा सूचीकृत भएको इलुभाटार कोरएक्सले सन् २०२५ मा २२ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको थियो। घरेलु एआई हार्डवेयरको बढ्दो मागका कारण कम्पनीको कुल आम्दानीको करिब ९० प्रतिशत हिस्सा जीपीयूँ बिक्रीबाटै भएको थियो।

कम्पनीको वेबसाइटका अनुसार यसको ‘तियाङ्गाइ’ शृङ्खलाका चिपहरू एआई ट्रेनिङका लागि र ‘झिकाई’ शृङ्खलाका चिपहरू इन्फरेन्सका कामहरूका लागि विशेष रूपमा तयार पारिएका हुन्।

हुअताई सेक्युरिटिजको प्रतिवेदन अनुसार यस वर्ष इलुभाटार कोरएक्सको आम्दानी ६८ अर्ब ४० करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। यस वर्ष कम्पनीको कुल चिप ढुवानी १३९ प्रतिशतले बढेर १ लाख भन्दा बढी पुग्ने अनुमान छ।

उक्त ब्रोकर कम्पनीका अनुसार यसको ‘झिकाई’ इन्फरेन्स चिपको औसत बिक्री मूल्य प्रतिचिप १२ हजार युआन अर्थात् २ लाख ६९ हजार ८०० रुपैयाँ पर्छ। रोयटर्सको यो समाचार सार्वजनिक भएपछि हङकङको सेयर बजारमा इलुभाटार कोरएक्सको सेयर मूल्य १२ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस्