बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट « Arthapath.com
१ असार २०८३, सोमबार

बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट



काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तुत गरेको उक्त बजेटमा पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षको कुल बजेटमध्ये पूँजीगत खर्चतर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार अर्थात् ६५.६९ प्रतिशत र चालूतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार अर्थात् ३४.३१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षको तुलनामा यस वर्ष बजेटको आकारमा केही फेरबदल गरिएको छ । जहाँ सरकारले चालू खर्चभन्दा विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्चमा अधिक जोड दिएको छ । बजेटको प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा ठूलो हिस्सा प्राप्त गरेको छ ।

मन्त्रालयका लागि २५ अर्ब ६० करोड ८ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसबाहेक, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि ९ अर्ब ६ करोड २ लाख ३९ हजार, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड ६१ लाख ८५ हजार र कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका लागि ६ अर्ब ७१ करोड ७७ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका लागि ५ अर्ब ३७ करोड ५५ लाख ७४ हजार तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड ७७ लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्