इरान युद्धले सङ्कटमा आयल निगम: १५ दिनमै ५ अर्ब घाटा, पेट्रोल-ग्यास यथावत राखेर हवाई इन्धनमा भारी वृद्धि
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहँदा नेपाल आयल निगमले ठूलो आर्थिक घाटा व्यहोर्नु परिरहेको छ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसक्दा निगमले पछिल्लो १५ दिन अर्थात् १६ मार्चदेखि ३१ मार्चसम्ममा मात्रै करिब ५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ।
इन्डियन आयल कर्पोरेसनबाट मार्च ३१ मा प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ४१ पैसा, डिजेलमा १३ रुपैयाँ ९३ पैसा र हवाई इन्धनमा १३ रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको छ।
यस नयाँ खरिद मूल्यका कारण निगमलाई प्रति लिटर पेट्रोलमा ४३ रुपैयाँ १२ पैसा, डिजेलमा ५३ रुपैयाँ ४५ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ४३६ रुपैयाँ ३७ पैसा घाटा भइरहेको छ। यो घाटाका कारण इन्डियन आयल कर्पोरेसनलाई समयमै रकम भुक्तानी गर्न नसक्दा आगामी दिनमा आपूर्ति व्यवस्थापन नै प्रभावित हुन सक्ने जोखिम देखिएको निगमले जनाएकाे छ।
यस्तो विषम परिस्थितिमा पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले तत्काल पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खुद्रा मूल्य नबढाउने निर्णय गरेको छ। निगमसँग रहेको ‘मूल्य स्थिरीकरण कोष’ को उपयोग गरेर अर्को मूल्य समायोजन नहुँदासम्मका लागि यी सर्वसाधारणले प्रयोग गर्ने इन्धनहरूको साबिककै मूल्य कायम राखिएको हो।
सर्वसाधारणले प्रयोग गर्ने इन्धनको मूल्य यथावत राखिए पनि निगमले हवाई इन्धनको मूल्यमा भने ठूलो वृद्धि गरेको छ। नयाँ निर्णय अनुसार हवाई इन्धन आन्तरिकतर्फ साबिकको प्रति लिटर १२७ रुपैयाँबाट २३ रुपैयाँले बढाएर प्रति लिटर १५० रुपैयाँ कायम गरिएको छ, जुन चैत १७ गते अर्थाt आजदेखि लागु भइसकेकाे छ।
त्यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ८ सय ६१ बाट बढाएर डलर १ हजार ७ सय ८५ कायम गरिएको छ। पोखरा र भैरहवा विमानस्थलका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धनको बिक्री मूल्य नाफा नोक्सान नहुने विन्दुमा राखी क्रमशः डलर १ हजार ७ सय ३२ र डलर १ हजार ७ सय १६ कायम गरिएको छ।
वर्तमान अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन र खपत कम गर्न समेत निगमले आग्रह गरेको छ।













