सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई ‘पुर्पक्षका लागि थुनामा राख्न’ आदेश « Arthapath.com
३ असार २०८३, बुधबार

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई ‘पुर्पक्षका लागि थुनामा राख्न’ आदेश



काठमाडौँ । सम्पत्ति शुद्धीकरणको गम्भीर आरोप लागेका नेपालका दुई चर्चित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतमा लामो समय चलेको थुनछेक बहस सकिएपछि अदालतले यस्तो निर्णय सुनाएको हो। यो आदेशसँगै अब उनीहरूले थुनामा रहेरै कानुनी लडाइँ लड्नुपर्ने भएको छ । उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइराला सम्मिलित इजलासले दुवै व्यवसायीलाई थुनामा राखेरै मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने निर्णय गर्‍यो।

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग लागेका उनीहरूलाई हिरासत बाहिर राख्दा प्रमाण नष्ट हुन सक्ने वा अनुसन्धान प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अदालतले यो कदम चालेको छ।

यसअघि प्रहरीले दुवै व्यवसायीलाई छुट्टाछुट्टै मितिमा नियन्त्रणमा लिएको थियो। सम्पत्ति शुद्धीकरणको आशङ्कामा अनुसन्धानका लागि प्रहरीले दीपक भट्टलाई चैत १९ गते पक्राउ गरेको थियो भने त्यसको तीन दिनपछि चैत २२ गते सुलभ अग्रवाललाई पनि नियन्त्रणमा लिएको थियो।

प्रहरी र सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गरेपछि अदालतमा उनीहरूको थुनछेक बहस सुरु भएको थियो, जसको अन्त्यमा अदालतले उनीहरूलाई तत्कालका लागि थुनामै राख्ने आदेश दिएको हो।


प्रतिक्रिया दिनुहोस्