सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न बोर्डको निर्देशन, अटेर गरे कारबाही हुने
काठमाडौं । नेपाल सरकारको विज्ञापन बोर्डले सामाजिक सञ्जालहरूमा औषधिजन्य पदार्थ तथा सामग्रीहरूको भ्रामक र आधारहीन विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न कडा निर्देशन दिएको छ ।
फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक, युट्युब लगायतका माध्यमबाट कानुनले निषेध गरेका, आवश्यक लेबलिङ र ब्रान्डिङ नभएका तथा आधिकारिक प्रमाणीकरण नगरिएका सामग्रीहरूको गलत विज्ञापन भइरहेको भन्दै बोर्डले यस्तो निर्देशन जारी गरेको हो ।
विशेषगरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी पीडा कम गर्ने, शरीरको बोसो घटाउने, मृगौला सफा गर्ने र शरीरका विषाक्त पदार्थ हटाउने जस्ता दाबी गरिएका विज्ञापनहरू सामाजिक सञ्जालमा व्यापक रूपमा पाइएको बोर्डले जनाएको छ । यस्ता आधारहीन विज्ञापनले आम नागरिकमा भ्रम फैलाउने, ठगी गर्ने र जनस्वास्थ्यको आधारभूत मापदण्ड समेत पालना नगरेको भन्दै बोर्डमा विभिन्न उजुरीहरू प्राप्त भएका छन् ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ तथा अन्य प्रचलित कानुन विपरीत रहेका यस्ता कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न र नगराउन बोर्डले सम्बन्धित सबैलाई सूचित गरेको छ । भ्रम वा अफवाह फैलाउने, चिकित्सकको सिफारिसमा मात्र बिक्री गरिने औषधिको बिना अनुमति भ्रामक विज्ञापन गरिएको पाइएमा विज्ञापन बोर्डमा तत्काल उजुरी गर्न समेत आम नागरिकलाई अनुरोध गरिएको छ ।
बोर्डले भ्रम, अफवाह वा ठगी गर्ने उद्देश्यले हालसम्म प्रकाशित वा प्रसारित भइसकेका त्यस्ता विज्ञापनहरू तत्काल हटाउन र भविष्यमा यस्ता कार्य नगर्न सचेत गराएको छ ।
यदि यो निर्देशनलाई अटेर गरी भ्रामक विज्ञापन गर्ने वा गराउने कार्य जारी राखेमा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २५ बमोजिम कडा कानुनी कारबाही गरिने बबरमहल, काठमाडौँस्थित विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री) द्वारा जारी सूचनामा उल्लेख छ ।












