२५ लाख रूपैयाँभन्दा बढीको संस्थापक सेयर किन्दा पनि विवरण बुझाउनुपर्ने
बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा पारदर्शिता बढाउन नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ वा ५ प्रतिशतभन्दा बढीको कारोबारमा वास्तविक धनीको विस्तृत विवरण अनिवार्य गरेको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयर खरिद-बिक्री तथा नामसारी प्रक्रियामा पारदर्शिता बढाउन कडाइ गर्दै नयाँ व्यवस्था थप गरेको छ।
केन्द्रीय बैंकले जारी गरेको नयाँ निर्देशनअनुसार अब कुनै पनि व्यक्ति वा संस्थाले एकै पटक वा पटक–पटक गरी चुक्ता पूँजीको कुल ५ प्रतिशत वा सोभन्दा बढी, अथवा कुल २५ लाख रूपैयाँभन्दा बढी मूल्य बराबरको संस्थापक सेयर खरिद वा नामसारी गर्दा वास्तविक धनी तथा हिताधिकारीको विस्तृत विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।
सेयर खरिद गर्ने वास्तविक धनी वा हिताधिकारीको पहिचान सुनिश्चित गर्नका लागि राष्ट्र बैंकले यो व्यवस्था लागु गरेको हो।
व्यक्तिगत र पारिवारिक विवरण माग
राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार संस्थापक सेयर खरिदकर्ता वा हिताधिकारी व्यक्तिले आफ्नो नाम, थर, ठेगाना, पारिवारिक विवरण र व्यवसायसम्बन्धी कानुनी मापदण्ड पूरा गरेको स्वघोषणासहित वास्तविक धनीको विस्तृत विवरण बुझाउनुपर्नेछ। यी सबै विवरणहरू राष्ट्र बैंकसमक्ष समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसका साथै लगानीकर्ताले नेपाल वा विदेशमा कुनै पनि प्रकारको कसुरमा संलग्न भए-नभएको, कुनै मुद्दा–मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक तथा प्रशासनिक कारबाहीको अवस्थामा रहेको वा नरहेको विषय समेत स्पष्ट पार्नुपर्नेछ।
वित्तीय आचरण र सम्पत्तिको स्वघोषणा
नयाँ नियमअनुसार लगानीकर्ताले अदालत वा कुनै अधिकारप्राप्त अधिकारीको फैसलाअनुसार बुझाउनुपर्ने राजस्व वा सरकारी बाँकी बक्यौता रहे वा नरहेको र स्वदेश वा विदेशमा कर्जासम्बन्धी कालोसूचीमा परे वा नपरेको बारेमा समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसका साथै नेपाली नागरिकको हकमा नेपालबाहिर कुनै सम्पत्ति रहेको भए वा त्यस्ता सम्पत्तिको वास्तविक धनी भए सोको विवरण, स्वार्थको द्वन्द्व हुन सक्ने परिस्थिति र कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी रहेको विषयसमेत स्वघोषणामार्फत खुलाउनुपर्नेछ। राष्ट्र बैंकले सम्बन्धित व्यक्तिको विगतको कार्य अनुभव, संलग्न संस्था, जिम्मेवारी, पुरस्कार, सजाय तथा समग्र वित्तीय आचरणसम्बन्धी विवरण समेत अनिवार्य गरेको छ।
पुराना सेयरधनीलाई पनि नियम
यदि सेयर खरिद गर्ने पक्ष कुनै संस्था हो भने, उक्त संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एकल, संयुक्त वा समूहगत रूपमा १५ प्रतिशत वा सोभन्दा बढी सेयर लगानी गर्ने वास्तविक धनी वा हिताधिकारीले पनि यी सबै व्यक्तिगत विवरणहरू अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
यो व्यवस्था नयाँ लगानीकर्तामा मात्र सीमित नरही निर्देशन जारी हुनुभन्दा अघि नै बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत वा २५ लाख रूपैयाँभन्दा बढी संस्थापक सेयर धारण गरेका विद्यमान सेयरधनी तथा तिनका वास्तविक धनीमा समेत लागु हुने राष्ट्र बैंकले जनाएको छ।
भविष्यमा पहिले बुझाइएको विवरणमा कुनै पनि प्रकारको परिवर्तन आएमा सोको जानकारी तुरुन्तै सम्बन्धित बैंकमा गराएर अद्यावधिक विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।












