कम्पनीहरूलाई ठूलो राहत: पुरानाे कर र जरिवाना मिनाहा, असोज मसान्तभित्र विवरण बुझाउनुपर्ने
काठमाडौँ । सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भई समयमै विवरण नबुझाएका वा नवीकरण नगरेका कम्पनीहरूका लागि पुरानाे सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै यस्तो सहुलियतको व्यवस्था गरिएको जानकारी दिएको हो।
नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ बमोजिम यो व्यवस्था गरिएको हो। कानुनी म्यादभित्र आफ्नो कम्पनीको विवरण पेस नगरेका, अद्यावधिक नगरेका वा बुझाउनुपर्ने शुल्क तथा जरिवाना बाँकी रहेका कम्पनीहरूले यस योजनाबाट लाभ लिन सक्नेछन्।
सूचना अनुसार, आफ्नो व्यवसायलाई निरन्तरता दिन चाहने वा कम्पनी दर्ता खारेज (लिक्विडेशन) गर्न चाहने दुवै थरी कम्पनीका लागि यो अवसर प्रदान गरिएको छ। यसका लागि सम्बन्धित कम्पनीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक विवरण र सोबापत लाग्ने कर, शुल्क तथा दस्तुर संवत् २०८३ साल असोज मसान्तभित्र बुझाउनुपर्नेछ।
तोकिएको अवधि (२०८३ असोज मसान्त) भित्र चालू आर्थिक वर्षको विवरण र कर दाखिला गरेमा सोभन्दा अघिका वर्षहरूको लाग्न सक्ने सम्पूर्ण कर, दस्तुर तथा जरिवाना पूर्ण रूपमा मिनाहा हुने कार्यालयले जनाएको छ।
तोकिएको समयभित्र विवरण पेस नगरेमा भने कम्पनीहरूले साविक बमोजिकै ठूलो जरिवाना र कानुनी दायित्व बेहोर्नुपर्ने हुन्छ।












