यो वर्ष ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा हुने
काठमाडौं । यस वर्षको प्रि–मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुन याममा नेपालमा औसत २२६ दशमलव तीन मिलिमिटर पानी पर्दछ ।
यस वर्ष भने औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७ मिलिमिटर पानी परेको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।
यसैबीच पछिल्लो २४ घण्टामा झापाको अनारमनी विर्तामा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सो क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा २०८ मिलिमिटर वर्षा (अति भारी वर्षा) भएको मापन गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।
उनका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मापन गरिन्छ । झापा क्षेत्रमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ ।
सन् १९८१ देखि १२६ वटा वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानी प्रि–मनसुनको विश्लेषण गर्दै आएको र सोही क्रममा यसपाली ४५ वर्षयताकै बढी वर्षा भएको हो ।












