बेलायती गुणस्तर मापदण्डअनुसार पुनः मान्यता पाउने नेपालको पहिलो र एकमात्र कलेज बन्यो द ब्रिटिस कलेज « Arthapath.com
५ असार २०८३, शुक्रबार

बेलायती गुणस्तर मापदण्डअनुसार पुनः मान्यता पाउने नेपालको पहिलो र एकमात्र कलेज बन्यो द ब्रिटिस कलेज



काठमाडौं। द ब्रिटिस कलेज (टीबीसी) ले बेलायतको प्रतिष्ठित स्वतन्त्र गुणस्तर सुनिश्चितता निकाय ब्रिटिस एक्रिडिटेसन काउन्सिलबाट पुनः मान्यता प्राप्त गरेको छ। यससँगै टीबीसी बेलायती मापदण्डअनुसार बीएसीबाट पुनः मान्यता प्राप्त गर्ने नेपालको पहिलो तथा एकमात्र कलेज बनेको छ।

कलेजले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार यो मान्यता ३१ मे २०३० सम्मका लागि मान्य रहनेछ। पुनः मान्यता प्रदान गर्नुअघि बेलायतबाट आएका बीएसीका निरीक्षक टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, सुशासन, विद्यार्थी सहयोग, सिकाइका स्रोत, भौतिक पूर्वाधार, अनलाइन शिक्षण, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारीलगायत विभिन्न पक्षको विस्तृत मूल्यांकन गरेको थियो।

चार दशकभन्दा बढी समयदेखि बीएसीले बेलायत तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च शिक्षाको गुणस्तर मापन गर्दै आएको छ। शैक्षिक प्रणाली, प्रभावकारी व्यवस्थापन, गुणस्तर सुनिश्चितता र निरन्तर सुधारप्रतिको प्रतिबद्धता देखाएका संस्थालाई मात्र यो मान्यता प्रदान गरिने कलेजले जनाएको छ।

बीएसीले संस्थागत सुशासन तथा वित्तीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक व्यवस्थापन, अध्यापन–सिकाइ तथा मूल्यांकन, विद्यार्थी सहयोग, भौतिक पूर्वाधार तथा सिकाइ स्रोत, र गुणस्तर व्यवस्थापन तथा सुधार गरी छ वटा प्रमुख सूचकका आधारमा मूल्यांकन गर्ने गरेको छ। एकपटक मान्यता पाएपछि पनि संस्थाले तोकिएका मापदण्ड निरन्तर पालना गरे–नगरेको नियमित अनुगमन तथा निरीक्षणमार्फत परीक्षण गरिने व्यवस्था रहेको छ।

कलेजका शैक्षिक डिन डा. डेक्लन पी. ब्याननले पुनः मान्यताले कलेजको शैक्षिक प्रणाली तथा प्राध्यापक र कर्मचारीको समर्पणलाई अन्तर्राष्ट्रिय रूपमा पुष्टि गरेको बताए। यसबाट विद्यार्थी र अभिभावकले कलेजको शैक्षिक गुणस्तरप्रति थप विश्वास गर्न सक्ने उनको भनाइ छ।

बीएसीकी डेपुटी प्रमुख कार्यकारी लुसी फक्सले कलेजले सन् २०२१ देखि बीएसी मान्यता प्राप्त गर्दै आएको उल्लेख गर्दै पुनः मान्यता प्राप्त गरेकोमा बधाई दिएकी छन्। उनका अनुसार बीएसीको मान्यताले शैक्षिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, विद्यार्थी कल्याण तथा संस्थागत सुशासनलगायत क्षेत्रमा कलेजले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको पुष्टि गर्छ।

द ब्रिटिस कलेज तथा ब्रिटिस एजुकेसन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले यसलाई नेपालको उच्च शिक्षा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासलाई निरन्तर अवलम्बन गर्दै नेपालको उच्च शिक्षाको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

विज्ञप्तिअनुसार द ब्रिटिस कलेजले बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरूसँगको सहकार्य, अन्तर्राष्ट्रियस्तरका डिग्री कार्यक्रम, उद्योगसँगको सहकार्य तथा स्नातकहरूको सफलतामार्फत आफ्नो पहिचान स्थापित गर्दै आएको छ। बीएसीको पुनः मान्यताले कलेजको अन्तर्राष्ट्रिय विश्वसनीयतालाई थप मजबुत बनाएको जनाएको छ।

कलेजले यस वर्षको सुरुआतमा केही संगठित समूहबाट गलत सूचना फैलाउने तथा जबर्जस्ती रकम असुल्ने प्रयास भएको उल्लेख गर्दै त्यससम्बन्धी कानुनी प्रक्रिया अगाडि बढिरहेको जनाएको छ। ती घटनापछि पनि बेलायतबाट आएको स्वतन्त्र निरीक्षण टोलीले विस्तृत मूल्यांकन गरी सन् २०३० सम्मका लागि पुनः मान्यता प्रदान गरेको कलेजले जनाएको छ।

कलेजका अनुसार यो उपलब्धिले विद्यार्थी, अभिभावक, रोजगारदाता, शैक्षिक साझेदार तथा सरोकारवालामाझ द ब्रिटिस कलेजले अन्तर्राष्ट्रियस्तरको शैक्षिक गुणस्तर र संस्थागत प्रभावकारिता कायम राखेको स्वतन्त्र प्रमाणका रूपमा काम गर्नेछ।


प्रतिक्रिया दिनुहोस्