वित्तीय साखमा सुधार आएसँगै नकारात्मक निगरानीबाट हट्यो नबिल बैंक, पुँजी संरचना र सम्पत्ति गुणस्तर झन् मजबुत
काठमाडाैं । नबिल बैंक लिमिटेडको वित्तीय विश्वसनीयता र साखमा महत्त्वपूर्ण सुधार आएको छ। नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई यसअघि राखेको ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ (नकारात्मक असर पर्न सक्ने निगरानी) बाट हटाउँदै रेटिङ परिमार्जन गरेको हो।
बैंकको दीर्घकालीन वित्तीय सुदृढता, स्थिर कार्यक्षमता र विश्वसनीय भुक्तानी क्षमताको आधारमा इक्रा नेपाल लिमिटेडले बैंकलाई प्रदान गर्दै आएको जारीकर्ता स्तरको ‘इक्रा–एनपी ए’ रेटिङलाई पुनः पुष्टि गरेकाे हाे ।
उक्त रेटिङ पर्याप्त स्तरको सुरक्षायुक्त श्रेणीमा पर्ने मानिन्छ जसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा बलियो भरोसा रहेको जनाउँछ र यस्तो स्तरका संस्थामा न्यून कर्जा जोखिम रहने निष्कर्ष निकालिन्छ।
रेटिङ पुनः पुष्टि गर्ने क्रममा बैंकको लामो सञ्चालन इतिहास, स्थापित पहिचान र अनुभवी तथा परिपक्व व्यवस्थापन टोलीलाई प्रमुख आधारका रूपमा लिइएको छ। बैंकको पुँजी संरचना पनि २०८३ बैशाख मध्यसम्म सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरिएको छ, जसलाई ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्कासनले बलियो टेवा दिएको छ। प्राथमिक पुँजीकोष ९.६९ प्रतिशत पुग्नुले नियामकीय आवश्यकताहरू पूरा गर्न मात्र नभई आगामी व्यावसायिक विस्तारलाई समेत सहज रूपमा समर्थन गर्ने अपेक्षा गरिएको छ।
बैंकको सम्पत्ति गुणस्तरमा क्रमिक सुधार देखिएको तथ्यलाई पनि रेटिङमा विशेष रूपमा समेटिएको छ। खराब कर्जाको शुद्ध अनुपात नेट वर्थको तुलनामा घटेर करिब ७ प्रतिशतमा झरेकाले बैंकको समग्र शोधन क्षमता (सोल्भेन्सी) स्थिति मजबुत रहेको निष्कर्ष निकालिएको छ। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षित वित्तीय विवरण तथा २०८२/८३ को पछिल्ला नौ महिनाको अपरीक्षित वित्तीय प्रदर्शनले बैंकको आम्दानी र नाफा दुवै सुधारोन्मुख अवस्थामा रहेको देखाएको छ।
तरलता स्थिति पनि सहज रहेको, देशभर फैलिएका २६८ शाखामार्फत भौगोलिक पहुँच बलियो रहेको तथा निक्षेप संरचनामा चालु खाता र बचत खाताको हिस्सा बढेर ५७ प्रतिशत पुगेको कारण कोषको लागत तुलनात्मक रूपमा कम हुँदै गएको विषयलाई पनि सकारात्मक पक्षका रूपमा मूल्याङ्कन गरिएको छ। यसले बैंकको समग्र सञ्चालन दक्षता सुधार हुँदै गएको र बजारमा स्वस्थ प्रतिस्पर्धात्मक क्षमता बढाएको संकेत गरेको छ।
आगामी दिनमा बैंकले आफ्नो सम्पत्ति गुणस्तर कायम राख्दै व्यवसाय विस्तारलाई सन्तुलित रूपमा अघि बढाउन सक्ने क्षमता, न्यूनतम नियामकीय आवश्यकताभन्दा पर्याप्त पुँजी बफर कायम राख्न सक्ने अवस्था तथा नाफाको दिगोपन नै यसको रेटिङ स्थायित्वका प्रमुख निर्धारक हुने उल्लेख गरिएको छ।












