प्रिमियममा आइपीओ ल्याउने तयारी गरेको मारुती सिमेन्टको ९ महिनामा ३ अर्ब ८७ करोडको व्यापार
काठमाडौं । सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने अन्तिम तयारी गरिरहेको मारुती सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो नौ महिनामा राम्रो वित्तीय सुधार देखाएको छ ।
उद्योग तथा व्यापार क्षेत्रका स्थापित घरानाहरू गोयल र राठी समूहको लगानी रहेको यस कम्पनीले समीक्षा अवधिमा ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएको हो । यसअघिका वर्षहरूमा पनि कम्पनीको कारोबार लगातार वृद्धि भइरहेको तथ्याङ्कले देखाउँछ ।
विगत आर्थिक वर्ष २०८०/०८१ मा ४ अर्ब ७५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको यस सिमेन्ट उद्योगले आर्थिक वर्ष २०८१/०८२ मा आफ्नो बिक्री बढाएर ५ अर्ब ९३ करोड ४० लाख रुपैयाँ पुर्याएको थियो । व्यापारिक आकारसँगै मारुती सिमेन्टको नाफा कमाउने क्षमता अर्थात् सञ्चालन नाफा मार्जिनमा पनि निकै उत्साहजनक प्रगति भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा १०.३८ प्रतिशत रहेको यस्तो मार्जिन त्यसपछिको वर्ष बढेर २०.८६ प्रतिशत पुगेको थियो । चालु आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा भने यो सूचक अझ सुदृढ बन्दै ३१.१७ प्रतिशत कायम भएको छ ।
सञ्चालन नाफामा देखिएको यो वृद्धिले बजारमा कम्पनीको बलियो पकड र चुस्त व्यवस्थापनलाई झल्काउँछ । कम्पनीले आफ्नो वित्तीय जोखिम घटाउँदै ऋणको भार समेत कम गर्दै लगेको छ ।
कुल ऋण अनुपात आर्थिक वर्ष २०८०/०८१ को ०.८५ गुणाबाट घटेर २०८१/०८२ मा ०.७५ गुणा र चालु आर्थिक वर्षको नौ महिनामा ०.६३ गुणामा झरेको छ ।
यस्तै, कुल दायित्व र खुद सम्पत्तिको अनुपात पनि निरन्तर घट्दै हाल ०.८० गुणामा आइपुगेको छ । कम्पनीको अल्पकालीन दायित्व भुक्तानी क्षमता (चालु अनुपात) १.९१ गुणा र कुल ऋण तथा नगद प्रवाहको अनुपात घटेर ३.८७ गुणा कायम हुनुले उद्योगको वित्तीय स्वास्थ्य बलियो रहेको प्रमाणित गर्छ ।
सन् १९९४ मा स्थापित यस कम्पनीले सिराहाको मिर्चैयामा रहेको उत्पादन केन्द्रमार्फत दैनिक ३ हजार ३ सय मेट्रिक टन क्लिङ्कर र ४ हजार मेट्रिक टन ग्राइन्डिङ क्षमतासहित उत्पादन गरिरहेको छ ।
कटारीको झाङ्की खोलामा अवस्थित आफ्नै चुनढुङ्गा खानीमा झण्डै तीन दशकलाई पुग्ने १४ करोड टन कच्चा पदार्थको भण्डार हुनु यसको मुख्य सबल पक्ष हो । देशभर करिब २०० डिलरहरूको सञ्जाल रहेको मारुती सिमेन्टको बजार नारायणघाटदेखि काकरभिट्टासम्म र पूर्वी क्षेत्रमा विशेष मजबुत छ ।
वित्तीय अवस्था थप बलियो बनाउने उद्देश्यका साथ कम्पनीले प्रतिकित्ता ३७७ रुपैयाँका दरले १ करोड १६ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरी कुल ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ पूँजी सङ्कलन गर्ने योजना बनाएको छ ।












