ठेक्का सम्झौता अनुसार काम नगर्ने लोहनी एण्ड ब्रदर्ससहित ४ निर्माण कम्पनी कालोसूचीमा
काठमाडाैं । ठेक्का सम्झौता अनुसार काम नर्ने ४ निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयकाे कालोसूचीमा परेका छन्।
कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सम्झौताका सर्तबमोजिम काम नगर्ने ती निर्माण एवम् आपूर्तिकर्ता कम्पनीहरूलाई बढीमा दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको हो।
कालोसूचीमा परेका कम्पनीहरूले कारवाही अवधिभर सार्वजनिक खरिदका कुनै पनि प्रक्रियामा भाग लिन पाउने छैनन्।
कालोसूचीमा पर्नेमा संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाको ठेक्कामा काम नगर्ने भक्तपुर चाँगुनारायणको प्रियान्सी कन्स्ट्रक्सन रहेकाे छ । याे कम्पनी एक वर्षका लागि कारवाहिमा परेकाे हाे ।
त्यस्तै, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजको सिफारिसमा भरतपुरको लोहनी एण्ड ब्रदर्स दुई वर्षका लागि कालोसूचीमा परेको छ।
यसैगरी, कञ्चनपुरको बेलौरीदेखि बेल्डाँडीसम्मको सडक खण्ड निर्माणको ठेक्का पाएर सर्तअनुसार काम नगरेको बाबा हंस सिद्धिसाई जेभीलाई पनि दुई वर्षका लागि कार्बाही गरिएको छ। उक्त जेभीलाई कार्बाही गर्न हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखिपठाएको थियो।
यसका साथै सडक डिभिजन भक्तपुरको सिफारिसमा गौरी पार्वती निर्माण सेवा पनि दुई वर्षकै लागि कालोसूचीमा परेको छ।












