भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
कास्की । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ ।
गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेको बताउँदै पोखरामा सुवेदीले उनीहरुको स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायीको दायित्व भएको बताए । पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधिसमेत बढेको अध्यक्ष सुवेदीको भनाइ छ ।
फेवातालमा दिनहुँ चार पाँच हजार भारतीय पर्यटककले डुङ्गा सयर गर्ने गरेको जानकारी फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकले बताए । डेढ महिनादेखि भारतीय पर्यटक उल्लेख्य उपस्थिति र फेवातालको मध्यभागमा अवस्थित बाराही मन्दिरमा दर्शन गर्न जान रुचि राख्ने गरेको विकले बताए । अहिले बाराही घाटबाट मात्र दिनहुँ १४० डुङ्गाहरु चलायमान छन् ।
यहाँका होटलको ९० प्रतिशत अकुपेन्सी पुगेको होटल व्यवसायीहरु बताउँछन् । विशेषगरी उनीहरु तालबाराही मन्दिर, पुग्दीको शिवमन्दिर, केदारेश्वर, विन्ध्यवासिनी, मुक्तिनाथ, मनकामना मन्दिरमा जाने गर्छन् ।
पोखरामा एकैदिन १० हजार पर्यटक अटाउनसक्ने क्षमता होटलमा छ ।












