असार लागेपछि सलबलायो काठमाडौँको घरजग्गा कारोबार, कत्तिको टिकाउ होला ? « Arthapath.com
९ असार २०८३, मंगलबार

असार लागेपछि सलबलायो काठमाडौँको घरजग्गा कारोबार, कत्तिको टिकाउ होला ?



काठमाडौँ । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा काठमाडौँमा आवासीय घडेरीको माग ह्वात्तै बढेजस्तो देखिएको बैंकरले बताएका छन् ।

अहिले बैंकमा जग्गा किन्ने मानिसहरुले ऋण माग्ने क्रम राम्रै रफ्तारमा बढेको प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले अर्थपथलाई बताए ।

‘यो अवस्था टिकाउ हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन, तर अहिले जग्गा किन्न आउनेहरुको संख्या बढेको छ’, उनले भने, ‘काठमाडौँमा मात्रै यो अवस्था देखिन्छ । बाहिरतिर त खासै माहोल फेरिएको छैन ।’

उनले काठमाडौँ उपत्यकामा घरजग्गाको कारोबारले साँच्चै गति लियो भने अहिलेको आर्थिक सुस्तता र बैंकहरुको वित्तीय हालतमा पनि उल्लेख्य सुधार हुने बताए । त्यसो त, लामो समयदेखि घरजग्गाको कारोबारमा आएको मन्दीले नै नेपाली अर्थतन्त्रलाई यति विघ्न कमजोर पारेको बुझाईसँग अर्थतन्त्रबारे जानकारी राख्ने ज्यादातर मानिसहरु समहत छन् ।

भलै, घरजग्गाको कारोबारलाई अर्थतन्त्रको ‘इञ्जिन’ बनाइराख्न हुन्छ कि हुन्न भन्नेमा चाहीँ दुईमत हुन सक्छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक हेर्ने हो भने चैतदेखि जेठसम्म घरजग्गाको कारोबार क्रमश: घटिरहेको देखिन्छ । तर बैंकरहरु असार लागेपछि यो रफ्तार उल्टिएको दाबी गरिरहेका छन् । असारको आधा महिनामात्रै व्यतित भएकाले अहिले नै कारोबारको तथ्यांक तुलना गर्न सकिँदैन, तर बैंकमा ऋण माग्नेको संख्याभने बढेको बताइएको छ ।

यदी असारमा देखिएको सिलसिला साँच्चै अघि बढ्यो र दशैँपछिबाट सुरु हुने घरजग्गा कारोबारको मुख्य मौसममा पनि यो रफ्तार कायमै रह्यो भने यसले अर्थतन्त्रलाई फाइदा पुर्याउने विशलेषण मानन्धरको छ ।

विगत तीन महिनामा काठमाडौँ उपत्यकाका तीन जिल्लाभित्र जग्गाको कारोबार (लिखत पास) भएको तथ्यांक :

यो विवरणलाई अझ केलाएर हेर्दा मालपोत कार्यालय अनुसारको लिखत पासको स्थिति यस्तो देखिन्छ :

किन बढ्यो चासो ?

अहिले आएर एक्कासी चासो बढ्नुमा नयाँ सरकारले ल्याएको बजेट पनि कारण हुन सक्ने ठानिएको छ । संघीय सरकारले घरजग्गाको कारोबारमा हुने नाफामाथि लाग्ने पूँजीगत लाभ कर बढाएको छ । यसरी बढाएको लाभकर साउन १ गतेदेखि लागू हुन्छ ।

घर वा जग्गाको मूल्य निर्धारण गर्दा विक्रेताले लाभकरको दायित्व पनि खरीदकर्ताको थाप्लोमा हाल्नसक्छ र त्यसले गर्दा घरजग्गाको भाउ बढ्न सक्छ भन्ने धारणा धेरै मान्छेमा देखिएको बैंकरहरु बताउँछन् ।

यसका अलावा नयाँ सरकारले काठमाडौँमा जग्गाको कित्ताकाटलाई पनि कडाई गर्नसक्ने तथा घरजग्गा कारोबारमा स्रोतको खोजी गर्दै केही प्रशासनिक अप्ठेराहरु उत्पन्न हुनसक्ने सन्देह पनि मानिसहरुमा बढ्न थालेको एक जना घरजग्गा कारोबारीले बताए ।

‘अलिअलि कारोबार त जहिले पनि भइरहेकै थियो । अहिले अलिकति बढेको हुनसक्छ’, काठमाडौँको बालाजु क्षेत्रमा घरजग्गा किनबेच गराउनमा मध्येस्तता गर्दै आएका एक व्यक्ति भन्छन्, ‘यो सरकारले झन् अप्ठेरो पार्छ, बरु अहिले नै किनिहालौँ भन्ने मानसिकता बढेको देखिन्छ ।’

बैंकर मानन्धर भने यस्तो ‘त्रास फैलिएको’कुरामा विस्वास गर्दैनन् । बरु, लामो समयदेखि रोकिएको घरजग्गा कारोबारले फेरि गति लिनसक्ने र गैरआवासीय नेपालीलाई पनि अपार्टमेण्टमा लगानी गर्न दिने कुराले भविष्यमा भाउ बढ्ने अनुमान गरिएको हुनसक्ने उनी बताउँछन् ।

फेरिएका क्रेता

पछिल्लो एक महिनामा बैंकरहरुले ‘नोटिस’ गरेको राम्रो पक्ष चाहीँ अहिले घरभन्दा घडेरीका लागि जग्गा किन्नेहरुको उपस्थिति र चासो बढेको छ । त्यसमा पनि सट्टेबाजीका लागि नभई वास्तविक उपभोक्तामात्रै जमीन किन्ने प्रयासमा देखिएको बैंकर बताउँछन् ।

‘पहिले पहिले त अलिकति किनेर राखिराखौँ, पछि महँगो भाउमा बेचौँला भनेर लगानीका रुपमा जग्गा किन्नेहरु धेरै देखिन्थे’, मानन्धर भन्छन्, ‘तर अहिले आफैँलाई घर बनाएर बस्नका लागि घडेरी किन्न खोज्नेहरुको बाहुल्यता देखिएको छ ।’

यस्ता ग्राहकले जमीन किन्दा घर बनाउने क्रम पनि विस्तारै बढ्नसक्ने आशा उनले व्यक्त गरे ।

यसको अर्को रमाइलो पाटो चाहीँ काठमाडौँ उपत्यकाभित्र भक्तपुर र साँखु मालपोतको क्षेत्राधिकारमा जेठमा पनि जग्गाको कारोबार बढेको देखिन्छ । तर अन्यत्र घटेकै छ । यस्तो अवस्थामा अपार्टमेण्टको लिखत पास भने बढ्दै गएको देखिएको छ । यस्ता अपार्टमेन्टहरु मूलत: कलंकी मालपोतको क्षेत्रमा पर्ने गरेको विभागको तथ्यांकले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्