विष्णु पाैडेलकाे गिरफ्तारी गैरकानूनी र प्रतिशोधपूर्ण: ओली « Arthapath.com
९ असार २०८३, मंगलबार

विष्णु पाैडेलकाे गिरफ्तारी गैरकानूनी र प्रतिशोधपूर्ण: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी गैरकानुनी र प्रतिशोधपूर्ण रहेको बताएका छन्।

मंगलबार च्यासलमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले पौडेललाई यातना दिएर पक्राउ गरिएको उल्लेख गर्दै यो कदम पूर्ण रूपमा गैरकानुनी र राजनीतिक प्रतिशोध मात्र भएको स्पष्ट पारे।

उनले राजनीतिक प्रतिशोध साँध्नकै लागि पौडेललाई पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न सरकारसँग मागसमेत गरे। अध्यक्ष ओलीले सरकारले पौडेललाई गिरफ्तार गर्ने मात्र नभएर अन्य कामहरू पनि गैरकानुनी ढंगले गरिरहेको आरोप लगाए।

वर्तमान सरकार जसरी प्रस्तुत भइरहेको छ, त्यसको विरुद्धमा अब एमालेले सडक र सदन दुवै ठाउँबाट सशक्त रूपमा प्रस्तुत भएर जवाफ दिने ओलीले चेतावनी दिए।


प्रतिक्रिया दिनुहोस्