बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले ७५ दिनका लागि तान्दै ४५ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरि ४५ अर्ब रुपैयाँ तान्ने भएको छ। असारमा मात्र राष्ट्र बैंकले आज तेस्राे पटक निक्षेप तान्न लागेकाे हाे ।
राष्ट्र बैंकले यसअघि ३ गते ४५ अर्ब र असार १० गते ७० अर्ब रूपैयाँ तानेकाे थियाे ।
निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले ७५ दिनका लागि ४५ अर्ब रुपैयाँ तान्न लागेकाे हाे ।यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यसकाे सावाब्याज भुक्तानी आउँदो भदौ २४ गते गरिने राष्ट्र बैंकले जनाएको छ।












