कर्णाली किनारमा ६ अर्बको लगानी, सुदूरपश्चिमको आर्थिक चित्र बदल्ने ‘जालपादेवी केबलकार’ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

कर्णाली किनारमा ६ अर्बको लगानी, सुदूरपश्चिमको आर्थिक चित्र बदल्ने ‘जालपादेवी केबलकार’



कर्णाली नदीमाथि सुरु हुन लागेको ६ अर्ब रुपैयाँको जालपादेवी केबलकार परियोजनाले सुदूरपश्चिमलाई भारतीय बजारसँग जोड्ने र स्थानीय अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन ल्याउने आशा जगाएको छ।

काठमाडौँ । चिसापानीमा नेपालकै सबैभन्दा लामो कर्णाली नदी आइपुग्दा यसको बहाव र दृश्यले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ। त्यसमाथि एक खम्बामा ठिङ्ग उभिएको चिसापानीको गुडिरहेको गाडी र हल्लिरहेको पुलले प्रकृति र आधुनिक इन्जिनियरिङको अनौठो संगम देखाउँछ।

वर्षौँदेखि यो सुन्दरता केवल रैथाने र वरपरका पर्यटकका लागि केही बेर भुल्ने ठाउँ मात्र बनिरह्यो। प्रकृतिले सुदूरपश्चिमलाई अथाह उपहार दिए पनि ती सम्भावनाकै घेराभित्र थुनिएका थिए। के यहाँका प्राकृतिक सम्पदा कहिल्यै समृद्धिको आधार बन्न सक्लान् भन्ने दशकौँ पुरानो प्रश्नको उत्तर खोज्न अहिले सरकारी र निजी क्षेत्रले उत्साहजनक प्रयास थालेका छन्।

त्यही प्रयासको एउटा ठूलो र महत्त्वाकाङ्क्षी कडी हो- जालपादेवी केबलकार।

कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने चिसापानीबाट मोहन्याल गाउँपालिकाको राजकाँडा जोड्ने यो केबलकार केवल यातायातको माध्यम मात्र होइन, बरु यो क्षेत्रकै आर्थिक मुहार फेर्ने सपना बनेको छ।

उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुवँरले यति ठूलो परिमाणको निजी लगानी यस क्षेत्रका लागि ऐतिहासिक अवसर भएको बताए। उनका अनुसार केबलकार चल्न थालेपछि यातायात, होटल व्यवसाय, स्थानीय कृषि र समग्र सेवा क्षेत्रमा सिधै सकारात्मक असर पर्नेछ।

टीकापुर र लम्की उद्योग वाणिज्य सङ्घका नेतृत्वकर्ताहरू सन्तोष खड्का र पदमराज चौलागाईंले पनि यसलाई समग्र प्रदेशकै प्रतिष्ठाको परियोजनाका रूपमा व्याख्या गरे, जसले यहाँ थप ठूला लगानी भित्र्याउन जगको काम गर्नेछ। आइएमई समूहको मुख्य लगानी रहेको यस बहुवर्षीय आयोजनामा विभिन्न चरणमा गरी करिब ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।

तीन दशमलव एक किलोमिटर लामो यो केबलकारसँगै अत्याधुनिक होटल, स्काइवाक, रेस्टुरेन्ट र पर्यटकीय पार्कहरू पनि निर्माण भइरहेका छन्।

दशक लामो सपना साकार हुँदै

यो परियोजनाको पृष्ठभूमि झन्डै १३ वर्ष पुरानो छ। स्थानीय ९९ जना व्यवसायीहरूले देखेको यो ठूलो सपना स्रोत र साधनको अभावले लामो समयसम्म अघि बढ्न सकेको थिएन। जब यसमा देशकै ठूलो व्यावसायिक घराना आइएमई समूह मिसियो, तब यसले गति लियो।

विसं २०८१ सालको पुस १३ गते शिलान्याश भएर गत वर्षको असारदेखि यसको भौतिक निर्माण कार्य सुरु भएको थियो। आयोजनाका इन्जिनियर विजय पौडेलले अहिले काम निकै तीव्र गतिमा अघि बढेको र आगामी असोजभित्रै व्यवसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेकाले पहिलो चरणका कामहरू धमाधम भइरहेको जानकारी दिए।

उनका अनुसार पोल ठड्याउने र स्टेशन निर्माणका अन्तिम कामहरू भइरहेका छन्, जसलगत्तै तार तान्ने र गोन्डोला जडान गर्ने प्राविधिक काम सुरु हुनेछ। तल्लो स्टेशनमा पाँचतारे होटल र ब्यान्क्वेट हल बन्दैछन् भने माथिल्लो स्टेशन राजकाँडामा जालपादेवी मन्दिर, स्काई वाक र रिसोर्टहरू बनिरहेका छन्।

लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिपक तिमिल्सेनाले तराईको उकुसमुकुस गर्मीबाट जोगिन शीतलता खोज्नेहरूका लागि राजकाँडा उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने र यसले पर्यटकको बसाइ लम्ब्याएर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे।

भारतीय बजार र अर्थतन्त्रको नयाँ इन्जिन

अहिले चिसापानीमा दैनिक सयौँ आन्तरिक पर्यटक आउने गरे पनि उनीहरू केही घण्टामै फर्किने गर्छन्। पर्यटन व्यवसायी देवराज जैसीले केबलकार र यससँगै बन्ने संरचनाले पर्यटकलाई लामो समय रोक्ने र बर्दियाको जङ्गल सफारी तथा कर्णालीको र्‍याफ्टिङलाई एउटै प्याकेजमा जोड्न सके सुदूरपश्चिमको कायापलट हुने उल्लेख गरे।

होटल व्यवसायी टङ्क पराजुलीले पनि यो परियोजनाले स्थानीय समुदायलाई सिधै रोजगारी दिने र गाउँका उत्पादनले उचित बजार पाउने भएकाले रैथाने नागरिकमा यो आयोजना आफ्नो साझा सम्पत्ति हो भन्ने भावना आउनु जरुरी रहेको बताए।

अर्का व्यवसायी कालु हमालले काठमाडौँभन्दा भारतको राजधानी दिल्ली चिसापानीबाट नजिक पर्ने भएकाले छिमेकी देशको विशाल बजारलाई आकर्षित गर्न सजिलो हुने तर्फ ध्यान खिचे। उत्तर प्रदेश र उत्तराखण्डका २७ करोडभन्दा बढी जनसङ्ख्यालाई लक्षित गरी गड्डाचौकी, गौरीफन्टा र रुपैडिहा जस्ता नाकाबाट आउने पर्यटक तान्न सके यसले कायापलट गर्ने उनको भनाइ छ।

यस्तै, रैथाने पहिचान र संस्कृतिको प्रवर्द्धन हुनेमा बसेरा थारु होमस्टेका अध्यक्ष किशोर थारु र बर्दियाका पथप्रदर्शक राजन चौधरी पनि निकै उत्साहित छन्। उनीहरूका अनुसार सीमावर्ती क्षेत्रका भारतीय सहरहरूबाट केही घण्टामै यहाँ पुग्न सकिने र गर्मी महिनामा शीतल खोज्नेका लागि राजकाँडा निकै उत्कृष्ट गन्तव्य बन्नेछ।

आर्थिक रूपान्तरणको महाअभियान

जालपादेवी केबलकार प्रालि तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो आयोजनालाई केवल एउटा पर्यटकीय गन्तव्यका रूपमा मात्र नभई देशकै आर्थिक रूपान्तरणको बलियो माध्यमका रूपमा हेरिनुपर्ने बताए।

पूर्वाधार बलियो नभएसम्म पर्यटकको संख्या र बसाइ बढाउन नसकिने भन्दै उनले सातै प्रदेशमा यस्ता ठूला पर्यटकीय पूर्वाधार निर्माण गर्ने आफ्नो समूहको दीर्घकालीन लक्ष्य रहेको खुलाए।

वर्षौँदेखि सम्भावनाको गफमा मात्र सीमित कर्णाली र सुदूरपश्चिमको प्राकृतिक सौन्दर्यलाई अब जालपादेवी केबलकारले ठोस आर्थिक अवसरमा बदल्ने लय समातेको छ र यसले सुदूरपश्चिमको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने निश्चित छ।


प्रतिक्रिया दिनुहोस्