अब सिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन भर्न सकिने « Arthapath.com
१२ असार २०८३, शुक्रबार

अब सिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन भर्न सकिने



काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सञ्चालनमा ल्याएको ‘सिटिजन्स सदाबहार योजना’ (एसआईपी) मा अब ग्राहकले बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत नै आवेदन दिन सक्ने भएका छन्।

सर्वसाधारणमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त योजनामा ग्राहकले डिजी बैंक सेवामार्फत बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङबाट प्रत्यक्ष रूपमा एसआईपी आवेदन दर्ता गरी लगानी प्रक्रिया सुरु गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यस सुविधाले एसआईपी आवेदन प्रक्रियालाई थप सरल, छिटो र सुरक्षित बनाउनेछ। साथै, ग्राहकलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न पनि सहज हुनेछ।

बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको थियो। हालै नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी बचत खाता’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। साथै, फ्रिलान्सरलाई लक्षित विशेष बचत खाता पनि सुरु गरेको छ।

यसका अतिरिक्त, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा उपलब्ध गराउनुका साथै क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा ल्याइएको छ। यस सेवाअन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन्।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ३७ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्