एउटै छानोमुनि सर्दै कुमारी बैंकका कार्यालयहरू, वार्षिक साढे सात करोड खर्च कटौती हुँदै
वर्षौँदेखि छरिएर रहेका कार्यालयका कारण मासिक लाखौँ रुपैयाँ भाडामा खर्चिरहेको कुमारी बैंक लिमिटेडको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेसँगै बैंकको ठूलो खर्च जोगिने भएको छ।
काठमाडौँ । निजी क्षेत्रको स्थापित व्यावसायिक संस्था कुमारी बैंक लिमिटेडले आफ्नो व्यवस्थापकीय क्षेत्रमा एउटा ठूलो फड्को मार्ने तयारी गरेको छ। काठमाडौँको नक्सालमा बैंकको आफ्नै नयाँ प्रधान कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो नयाँ भवन पूर्ण रूपमा सञ्चालनमा आएपछि बैंकले वर्षौँदेखि घरभाडा बापत बजारमा पठाउँदै आएको लाखौँ रुपैयाँ बचत हुनेछ।
विगत लामो समयदेखि कुमारी बैंकका विभिन्न विभाग र कार्यालयहरू काठमाडौँका फरक–फरक स्थानमा छरिएर सञ्चालन भइरहेका छन्। हाल मुख्य कार्यालय रहेको स्थानको मात्रै मासिक ३० लाख रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता छ। त्यसबाहेक मालीगाउँ, पुतलीसडक, बागबजार र नक्सालकै अन्य क्षेत्रमा रहेका विभिन्न विभागहरूको भाडा जोड्दा बैंकलाई ठूलो आर्थिक भार परिरहेको छ।
नयाँ भवन तयार भएर सबै विभागहरू एउटै छानोमुनि सरेपछि बैंकको मासिक झण्डै ६० लाख रुपैयाँ भाडा जोगिने निश्चित भएको बैंकको उच्च व्यवस्थापनको दाबी छ। यसले बैंकको सञ्चालन खर्च पनि उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ।
सस्तो लागतमा अत्याधुनिक संरचना
चार रोपनी दुई आना जग्गामा फैलिएको यो नयाँ भवन कुल एक लाख वर्गफिट क्षेत्रफलको रहेको छ। डबल बेसमेन्ट पार्किङसहितको १२ तले यो अत्याधुनिक भवनको कुल निर्माण लागत एक अर्ब २५ करोड रुपैयाँ मात्र रहेको छ।
बजारमा अन्य ठूला व्यावसायिक परियोजना वा होटलहरूको निर्माण लागत निकै उच्च देखिने गरे पनि कुमारी बैंकले भने पारदर्शी सार्वजनिक खरिद प्रक्रिया र प्रतिस्पर्धात्मक बोलपत्रका माध्यमबाट न्यून लागतमा यो संरचना तयार पारेको हो।
कुल आठ वटा निर्माण कम्पनीको आवेदन परेकोमा सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने समानान्तर निर्माण कम्पनीले यसको संरचना निर्माणको जिम्मा पाएको थियो। सम्झौता अनुसार २४ महिनाभित्रै मुख्य भवनको निर्माण कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ।
हाल यस भवनको भित्री सजावट अर्थात् इन्टेरियरको काम द्रुत गतिमा भइरहेको छ, जसका लागि थप केही महिना लाग्ने अनुमान गरिएको छ।

एकीकृत कार्यप्रणाली र सिनर्जीको अपेक्षा
अहिले विभिन्न ठाउँमा कार्यालयहरू छरिँदा बैंकको दैनिक कार्यसम्पादन र कर्मचारीहरूबीचको समन्वयमा केही कठिनाइ भइरहेको महसुस बैंक व्यवस्थापनले गरेको छ।
एउटा कार्यालयबाट अर्को कार्यालयमा फाइल वा जानकारी पठाउनुपर्दा हुने समयको बर्बादी र प्रशासनिक झन्झट नयाँ भवनमा सरेपछि पूर्ण रूपमा अन्त्य हुनेछ। सबै विभागका कर्मचारीहरू एकै ठाउँमा बस्दा बैंकको कार्यक्षमतामा एउटा नयाँ ऊर्जा र ‘सिनर्जी’ पैदा हुने विश्वास गरिएको छ।
नयाँ प्रधान कार्यालय विशुद्ध रूपमा प्रशासनिक र व्यवस्थापकीय कार्यका लागि मात्र प्रयोग गरिनेछ। ग्राहकहरूको सहजताका लागि भने नक्साल क्षेत्रमै रहेको बैंकको साविकको काउन्टर यथावत् रहनेछ।
आफ्नै सुविधासम्पन्न भवन भएपछि बैंकको शाख र पहिचान बजारमा अझ बलियो हुने तथा यसले शेयरधनी र ग्राहक दुवैमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।















