विश्व बजारमा मेमोरी र चिप अभाव भएपछि महँगिए एप्पलका उत्पादन, अब कसको मूल्य कति ? « Arthapath.com
१४ असार २०८३, आइतबार

विश्व बजारमा मेमोरी र चिप अभाव भएपछि महँगिए एप्पलका उत्पादन, अब कसको मूल्य कति ?



काठमाडाैं । विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले आफ्ना लोकप्रिय उत्पादनहरू म्याकबुक र आईप्याडको मूल्यमा भारी वृद्धि गरेको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो लहरका कारण बजारमा मेमोरी र स्टोरेज चिप्सको अभाव भई लागत मूल्य बढेपछि कम्पनीले यो कदम चालेको हो। यो मूल्य वृद्धि तत्कालै लागू हुने गरी तय गरिएको छ।

नयाँ मूल्य सूची अनुसार एप्पलको सुरुवाती संस्करणको म्याकबुक ‘नियो’ को मूल्य ५९९ डलरबाट बढेर ६९९ डलर पुगेको छ। यसैगरी, सबैभन्दा सस्तो आईप्याडको मूल्य ३४९ डलरबाट बढाएर ४४९ डलर तथा आईप्याड मिनीमा १०० डलर वृद्धि गर्दै ५९९ डलर कायम गरिएको छ।

एप्पलले आफ्ना अन्य उपकरणहरू जस्तै एप्पल टिभी १२९ डलरबाट बढेर १९९ डलर, महँगो हेडसेट एप्पल भिजन प्रो ३,४९९ डलरबाट बढेर ३,६९९ डलर र होमपड स्पिकर २९९ डलरबाट बढेर ३४९ डलर पुर्‍याएको छ।

बिहीबारदेखि नै एप्पलको आधिकारिक अनलाइन स्टोरमा यी नयाँ मूल्यहरू देखिन थालेका छन्। यद्यपि, ‘बेस्ट बाइ’ र ‘टार्गेट’ जस्ता तेस्रो पक्षका (थर्ड-पार्टी) केही वेबसाइटहरूमा भने अझै पनि पुरानै मूल्यहरू देखाइरहेका छन्। मूल्य वृद्धिको यो घोषणासँगै बिहीबार सेयर बजारमा एप्पलको सेयर (एएपीएल) ६.१ प्रतिशतले ओरालो लागेको थियाे, जुन विगत एक वर्षभन्दा बढी समययताकै सबैभन्दा ठूलो गिरावट हो।

एप्पलले एक विज्ञप्ति जारी गर्दै एआई डेटा सेन्टरहरूको संख्या द्रुत गतिमा बढ्दा मेमोरी र स्टोरेजको मागमा अप्रत्याशित उछाल आएको बताएको छ।

पुर्जाहरूको मूल्य यति छिटो र यति धेरै बढेको इतिहासमै कहिल्यै नदेखिएको उल्लेख गर्दै कम्पनीले आईप्याड र म्याकसहित धेरै उत्पादनहरूको मूल्य बढाउनुको विकल्प नरहेकाे जनाएकाे छ।

यसअघि एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले पनि चिप्सको अभावका कारण मूल्य वृद्धि अपरिहार्य बन्दै गएको र यसले ग्राहकलाई झट्का दिन सक्ने चेतावनी दिएका थिए। एआई डेटा सेन्टरहरूको निर्माण तीव्र भएसँगै ‘माइक्रोन’ जस्ता चिप निर्माता कम्पनीहरूले बम्पर नाफा कमाइरहेका छन्।

मजबुत आपूर्ति सञ्जाल र विश्वकै सर्वाधिक नाफा कमाउने कम्पनीमध्ये एक भएर पनि एप्पलले उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा देखिएको यो विश्वव्यापी चिप संकटको प्रभावलाई टार्न सकेन।

यद्यपी एप्पलले आफ्ना सबैभन्दा लोकप्रिय उत्पादनहरू आईफोन र एयरपड्सको मूल्यमा भने हाललाई कुनै परिवर्तन गरेको छैन।


प्रतिक्रिया दिनुहोस्