तिरुमला मन्दिर पुगेर अनन्त अम्बानीले मुण्डन गराए, भगवान वेङ्कटेश्वरलाई चढाए कपाल
भारतको सबैभन्दा ठूलो औद्योगिक घरानामध्येको एक रिलायन्स इन्डस्ट्रिजका कार्यकारी निर्देशक अनन्त अम्बानीले आन्ध्र प्रदेशको प्रसिद्ध तिरुमला मन्दिरमा परम्परागत रूपमा कपाल दान गर्दै विशेष पूजाअर्चना गरेका छन्।
काठमाडौँ । रिलायन्स इन्डस्ट्रिजका कार्यकारी निर्देशक अनन्त अम्बानीले आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुमला श्री वेंकटेश्वर स्वामी मन्दिरको भ्रमण गरेका छन्। आइतवार मन्दिर पुगेका उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै बिहान सबेरै हुने ‘शुप्रभातम् सेवा’ मा सहभागिता जनाए।
सो क्रममा उनले मन्दिरको शताब्दीयौँ पुरानो परम्परा अनुसार आफ्नो कपाल मुण्डन गरी भगवान वेङ्कटेश्वरलाई दान गरे।
अनन्त आइतवार मध्यरातको करिब १ बजेतिर तिरुमला पुगेका थिए। त्यसपछि उनले भगवानलाई ब्युँझाउने विशेष अनुष्ठानको रूपमा लिइने सुप्रभातम सेवामा भाग लिए। दर्शन गरिसकेपछि मन्दिरका पुजारीहरूले उनलाई वैदिक मन्त्रोच्चारण सहित आशीर्वाद दिएका थिए भने तिरुमला तिरुपति देवस्थानम् (टीटीडी) का कार्यकारी अधिकारीले उनलाई पवित्र सम्झनाको चिनो र प्रसाद प्रदान गरे।
परम्परागत कपाल दान
उनको यस पटकको मन्दिर भ्रमणमा परम्परागत कपाल दानको विषयले विशेष चर्चा पाएको छ। तिरुमला मन्दिरमा कपाल दान गर्ने कार्यलाई भगवान वेङ्कटेश्वरप्रति समर्पण, विनम्रता र कृतज्ञता प्रकट गर्ने शताब्दीयौँ पुरानो अभ्यास मानिन्छ, जसलाई लाखौँ भक्तजनहरूले पछ्याउँदै आएका छन्।
हालका वर्षहरूमा अनन्तको लामो कपाल उनको एउटा मुख्य पहिचान बनेका कारण पनि यस पटक उनले गरेको कपाल दानले धेरैको ध्यान तानेको हो।
मन्दिर भ्रमणका क्रममा खिचिएका उनका कतिपय भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। ती भिडिओहरूमा कपाल दान गरिसकेपछि अनन्तले हात्तीहरूलाई खाना खुवाइरहेको देख्न सकिन्छ। त्यस अवसरमा उनले सेतो रङ्गाको भेषभूषा (भेष्टी र अङ्गवस्त्रम्) का साथै रातो र सुनौलो रङ्गको परम्परागत सल ओढेका थिए।
मन्दिर भ्रमणकै क्रममा उनले त्यहाँको गौशालामा पनि केही समय बिताए। त्यसपछि उनी तिरुपतिस्थित श्री पद्मावती अम्मावारी मन्दिरको दर्शन गरेर आफ्नो धार्मिक यात्रा पुरा गरी फर्किए।
धार्मिक आस्था र मन्दिर भ्रमण
रिलायन्सका यी कार्यकारी निर्देशकले देशका विभिन्न प्रमुख हिन्दु मन्दिरहरूको भ्रमण गर्ने गरेका छन्। उनले भगवान कृष्ण र श्रीनाथजीप्रति आफ्नो अगाध आस्था रहेको कुरा कतिपय प्रसङ्गमा बताउने गरेका छन्।
यसै महिनाको सुरुआतमा पनि अनन्त आफ्ना पिता मुकेश अम्बानी र पत्नी राधिका मर्चेन्टसँगै तिरुमलाको श्री वेङ्कटेश्वर स्वामी मन्दिर पुगेका थिए। यो जोडीले यसै वर्षको सुरुवात्मा कृष्ण काली मन्दिरको पनि दर्शन गरेको थियो।
गत वर्ष आफ्नो विवाह हुनुअघि अनन्तले गुजरातको द्वारकाधीश मन्दिरको पैदल यात्रा (पदयात्रा) गरेर आफ्नो धार्मिक आस्था प्रकट गरेका थिए।
अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह भएको आगामी जुलाई १२ मा दुई वर्ष पुग्दैछ। सन् २०२४ जुलाई १२ मा मुम्बईमा वैवाहिक बन्धनमा बाँधिएका उनीहरूको दोस्रो विवाह वर्षगाँठ आउन केही साता बाँकी छँदा अनन्तको यो तिरुमला भ्रमण भएको हो।













