साउदी अरब र फ्रान्समा दुई छुट्टाछुट्टै हवाई दुर्घटना: २५ जनाको मृत्यु
साउदी अरबमा तेल उत्पादक कम्पनी अरामकोको हेलिकप्टर र फ्रान्समा स्काईडाइभर बोकेको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ।
काठमाडौँ । साउदी अरब र फ्रान्समा आइतबार भएका दुई छुट्टाछुट्टै हवाई दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। साउदी अरबमा एउटा हेलिकप्टर र फ्रान्समा गैरसैनिक विमान दुर्घटनामा परेका हुन्। दुवै घटना आइतबार नै भएका हुन् र तिनको विस्तृत विवरण संकलन गर्ने तथा अनुसन्धान गर्ने काम भइरहेको जनाइएको छ।
साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको एउटा हेलिकप्टर देशको पूर्वी बुर्नइ क्षेत्रमा पर्ने रास तनुरामा दुर्घटनाग्रस्त भएको छ। साउदीको सरकारी समाचार एजेन्सीले आइतबार दिएको जानकारी अनुसार उक्त हेलिकप्टर दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ। दुर्घटनाको प्रकृतिका बारेमा थप विवरण आउन बाँकी छ।
हेलिकप्टर के कारणले दुर्घटनामा परेको हो भन्ने कुरा अझै खुल्न सकेको छैन। अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउनका लागि अनुसन्धान सुरु गरिसकेको बताएका छन्। दुर्घटना भएको स्थान रास तनुरा मध्यपूर्वको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो, जसको सञ्चालन साउदी अरामको कम्पनीले गर्दै आएको छ।
यसैगरी, फ्रान्सको तोमब्लेनमा एउटा गैरसैनिक विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार नान्टी सहर नजिकै पर्ने तोमब्लेनमा आइतबार स्काईडाइभरहरू बोकेको उक्त विमान दुर्घटनामा परेको हो। दुर्घटना लगत्तै घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ र उद्धार कार्य जारी रहेको बताइएको छ।
फ्रान्सेली सञ्चारमाध्यम ल पारिसियनका अनुसार मृत्यु हुनेहरूमा पाँच जना प्रशिक्षक, पाँच जना विद्यार्थी र विमानका चालक रहेका छन्। विमान बस्ती नजिकै एउटा सडकको छेउमा रहेको चौरमा खसेको थियो। एक प्रत्यक्षदर्शीले फ्रान्सेली दैनिक पत्रिका ल एस्त रिपब्लिकनलाई बताए अनुसार दुर्घटना स्थानीय समय अनुसार बिहानको करिब ११ बजे भएको हो।
ती प्रत्यक्षदर्शीले आफू किनमेलका लागि गाडी चलाएर जाँदै गर्दा विमान अचानक तलतिर ओर्लेर दुर्घटना भएको देखेको बताए। घटना लगत्तै आपतकालीन सेवाका अधिकारीहरू घटनास्थलमा पुगेर स्थितिको मूल्यांकन र व्यवस्थापनमा जुटेका छन्।













