पासपाेर्ट संकट टार्न राहदानी विभागकाे जिम्मेवारी सहसचिव दीपक विकलाई
काठमाडौं। परराष्ट्र मन्त्रालयले विगत दुई सातादेखि नेतृत्वविहीन रहेको राहदानी विभागको महानिर्देशक पदमा सहसचिव दीपक विकलाई नियुक्त गरेको छ। मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै सहसचिव विकलाई विभागको प्रमुख जिम्मेवारी सुम्पिएको हो।
पछिल्लो समय विभागमा राहदानीको मौज्दात न्यून हुँदै गएको र नयाँ छपाइको निर्णय तत्काल लिनुपर्ने बाध्यात्मक परिस्थितिका बीच मन्त्रालयले नयाँ नेतृत्व पठाएको हो। हाल विभागसँग करिब ६० हजारको संख्यामा मात्रै राहदानी मौज्दात रहेको बताइएको छ। तत्काल नयाँ राहदानी छपाइको निर्णय नभएमा वितरण प्रणालीमै गम्भीर समस्या उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उनलाई सो जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ।
यसअघि राहदानी छपाइको ठेक्का एक जर्मन कम्पनीलाई दिने प्रक्रियामा अनियमितता भएको भन्दै विवाद उत्पन्न भएको थियो। सोही खरिद प्रक्रियालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन महानिर्देशक तीर्थ अर्याललाई नियन्त्रणमा लिएपछि विभागको नेतृत्व खाली भएको थियो।













