आधा दर्जन लघुवित्त शीघ्र सुधारको कारबाहीमा, नियम मिचेर गाडी किन्ने र कर्मचारी भर्ना गर्ने सञ्चालकहरू पनि तानिए
काठमाडाैं । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्ने आधा दर्जन लघुवित्त संस्थाहरू कारवाहिमा परेका छन् ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।
राष्ट्र बैंकको नियामकीय मापदण्ड बमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम नगरेका ५ वटा लघुवित्त संस्थाहरूलाई ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ (क) बमोजिम कारबाही गरिएको छ।
यसरी कारबाहीमा पर्नेहरूमा आरम्भ चौतारी लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ७.७७ प्रतिशत मात्र कायम गरेको पाइएको छ।
त्यस्तै, गणपति लघुवित्तले २०८२ असोज मसान्तमा ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तले २०८२ असार मसान्तमा ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तले ६.०१ प्रतिशत र सिवाईसी नेपाल लघुवित्तले ६.२० प्रतिशत मात्र पुँजीकोष अनुपात कायम गरेपछि राष्ट्र बैंकले यी सबै संस्थामाथि शीघ्र सुधारात्मक कारबाही चलाएको हो।
पुँजीकोषको कैफियतबाहेक अन्य संस्थाका सञ्चालक समिति र पदाधिकारीहरू पनि राष्ट्र बैंकको कारबाहीको दायरामा आएका छन्।
धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड, बागलुङको सञ्चालक समितिले कर्मचारी सेवा विनियमावलीको मर्म विपरीत नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गराएको र स्पष्ट आधार विना नै बहाल नरहेको अवधिको रकम नियम विपरीत भुक्तानी गरेको पाइएको छ।
यसरी नियम उल्लंघन गरेपछि राष्ट्र बैंकले संस्थाकी अध्यक्ष सिर्जना थापासहित सञ्चालकहरू सुमन प्रसाद श्रेष्ठ, जीवन आचार्य, सालिक राम शर्मा, चेत प्रसाद सापकोटा, गणेश पौडेल र रेशम लाल सापकोटालाई अब उप्रान्त यस्तो कार्य नगर्न र नगराउन सचेत गराएको छ।
यसैगरी, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, पोखराको सञ्चालक समितिले सवारी साधन खरिद गर्दा आर्थिक प्रशासन विनियमावलीमा तोकिएको खर्च सीमा र अख्तियारी पालना नगरेको पाइएको छ। सोही कारण अध्यक्ष पद्मनाथ शर्मा, प्रा.डा. तरुण पौडेल, लक्ष्मण खड्का क्षेत्री, जीवन प्रसाद पौडेल, सुमन घर्ती क्षेत्री, मुनादेवी खनाल र दिलीप पौडेलसहितको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ।
उता नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज बस्याललाई पनि राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गरेको भन्दै सचेत गराइएको छ।
संस्थाले कर्जा नोक्सानी व्यवस्था बापतको रु. ८१.५५ करोड फिर्ता गरी आम्दानी जनचेको तर त्यसरी फिर्ता गरिएको रकम कुन-कुन ऋणीको हो भन्ने यकिन नगरी विवरण लुकाएको पाइएपछि राष्ट्र बैंकले सीईओ बस्याललाई अब उप्रान्त यस्तो कार्य नदोहोर्याउन निर्देशन दिँदै सचेत गराएको हो।













