आगामी वर्षदेखि ऋणात्मकबाट जोगिँदै कुमारी बैंक, यस्तो छ खराब कर्जा उठाउने र नाफा बढाउने रणनीति
खराब कर्जा व्यवस्थापन र आन्तरिक खर्च कटौतीमा आक्रामक बन्दै गएको कुमारी बैंक लिमिटेडले आगामी आर्थिक वर्षभित्रै आफ्नो वितरणयोग्य नाफालाई ऋणात्मकबाट धनात्मक (पोजेटिभ) बनाउने लक्ष्य राखेको छ।
काठमाडौँ । बैंकहरूको वित्तीय स्वास्थ्यलाई लिएर बजारमा अनेकौँ टीकाटिप्पणी भइरहेका बेला कुमारी बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार ल्याउने गरी रणनीतिक योजना अघि सारेको छ।
विगतका केही बैंक तथा विकास बैंकहरूसँगको मर्जरका कारण सिर्जना भएको दबाबलाई झेल्दै बैंकले आगामी आर्थिक वर्षभित्रै आफ्नो वितरणयोग्य नाफालाई ऋणात्मक अवस्थाबाट मुक्त गराउने लक्ष्य लिएको हो।
हाल कुमारी बैंकको वितरणयोग्य नाफा करिब दुई अर्ब रुपैयाँ भन्दा कमले ऋणात्मक रहेको छ। चालु आर्थिक वर्षको असार मसान्तभित्रै यसलाई धनात्मक बनाउन बैंक व्यवस्थापनले कडा मिहिनेत गरिरहेको छ।
यद्यपि, राष्ट्र बैंकको प्रावधान र असार मसान्तको अन्तिम दिन उठ्ने ब्याज रकमको अवस्थाले यसमा केही प्राविधिक प्रभाव पार्न सक्ने भए पनि आगामी आर्थिक वर्षमा भने बैंक निकै सहज र सुरक्षित अवस्थामा पुग्ने वित्तीय प्रक्षेपण गरिएको छ।
ब्याज असुलीको चुनौती
यसअघि चैत २०८१ को वित्तीय विवरणका आधारमा बंगलादेशी लेखापरीक्षक (हबल्दार रिपोर्ट) ले दिएको प्रतिवेदन अनुसार कुमारी बैंकले ३ देखि ४ अर्ब रुपैयाँ थप प्रोभिजन (जोखिम व्यवस्थापन कोष) गर्नुपर्ने औँल्याएको थियो।
तर, बैंकले सोही अवधिको बीचमा ५ देखि ६ अर्ब रुपैयाँको प्रोभिजन पहिले नै बुक गरिसकेकाले अब आउने नयाँ विवरणमा यसको खासै ठूलो नकारात्मक असर नपर्ने र बढीमा ४० देखि ५० करोड रुपैयाँ मात्र थप प्रोभिजन गर्नुपर्ने देखिएको छ। यसले गर्दा बजारमा चलेका हल्ला जस्तो बैंकको ब्यालेन्स सिट खस्किने कुनै सम्भावना नरहेको बैंक स्रोतको दाबी छ।
रिकभरीमा मुख्य जोड
कुमारी बैंकले पछिल्लो साढे दुई वर्षदेखि आफ्नो कर्जा विस्तार (लोन ग्रोथ) लाई पूर्ण रूपमा स्थिर राखेको छ। कुनै समय ७ प्रतिशतमा झरेको बैंकको प्राथमिक पूँजी कोष अनुपात (कोर क्यापिटल रेसियो) अहिले सुधारिएर ९ प्रतिशत कटिसकेको छ।
बैंकले नयाँ ठूला कर्जाहरू दिनुभन्दा पनि पुरानो खराब कर्जा उठाउने (रिकभरी) कार्यलाई नै आफ्नो पहिलो प्राथमिकता बनाएको छ।
बजारमा घरजग्गा कारोबारमा केही सुधार आउन थालेकाले काठमाडौँ उपत्यकाभित्र रहेका गैरबैंकिङ सम्पत्तिहरू (एनबीए) बिक्री गरेर रकम असुल गर्ने क्रम बढेको छ।
त्यस्तै, सरकारले घोषणा गर्न लागेको एसेट म्यानेजमेन्ट कम्पनी (सम्पत्ति व्यवस्थापन कम्पनी) मार्फत आगामी पुस महिनाभित्र बैंकको केही अर्बको सम्पत्ति बिक्री हुने वातावरण बनेपछि बैंकको वित्तीय अवस्था अझै बलियो हुनेछ। चालु वर्ष व्यवसाय स्थिर राखेको बैंकले आगामी आर्थिक वर्षमा भने ४ देखि ५ प्रतिशतको हाराहारीमा मात्र सुरक्षित कर्जा बिस्तार गर्ने नीति लिएको छ।
खर्च कटौती र लाभांशको तयारी
नयाँ भवनमा सरेपछि जोगिने मासिक ६0 लाख रुपैयाँ भाडा र कमजोर कार्यक्षमता भएका केही शाखाहरूको बन्द वा स्थानान्तरणले बैंकको आन्तरिक लागत निकै घट्ने छ।
बैंकसँग हाल २८ अर्ब रुपैयाँ बराबरको भारी प्रोभिजन रकम सुरक्षित रहेकाले आगामी दिनमा थप प्रोभिजन गर्नुपर्ने दायित्व घट्नेछ। यसले गर्दा बैंकको वास्तविक नाफा वार्षिक ७ देखि ८ अर्ब रुपैयाँको आकारमा सहजै आउने देखिन्छ।
विगतमा साविक एनसीसी बैंकसँगको मर्जरपछि कर्मचारी युनियनका कारण सिर्जना भएका आन्तरिक विवादहरू अहिले पूर्ण रूपमा समाधान भइसकेका छन्।
खराब कर्जा घट्ने र सञ्चालन खर्च जोगिने स्पष्ट आधार तय भएकाले चालु वर्षको अन्त्य वा आगामी वर्षको सुरुवाती महिनाहरूबाटै बैंक पूर्ण रूपमा नाफामा जानेछ।
सोही सुधारका आधारमा आगामी आर्थिक वर्षमा आफ्ना शेयरधनीहरूलाई सहज रूपमा लाभांश (डिभिडेन्ड) वितरण गर्ने तयारीमा बैंक जुटेको छ।













