के एआईको बजार एउटा ठूलो भ्रम मात्र हो? केन्द्रीय बैंकहरूको संगठनले दियो कडा चेतावनी
लगानीकर्ताहरू एआई प्रविधिमा ढुक्क देखिइरहँदा विश्वका केन्द्रीय बैंकहरूको साझा संस्थाले भने यस क्षेत्रमा हुन सक्ने ठूलो आर्थिक मन्दीप्रति सचेत गराएको छ।
काठमाडौँ । एआई अर्थात् कृत्रिम बौद्धिकताको क्षेत्रमा आइरहेको ठूलो उछाललाई कतिपयले एउटा अस्थायी भ्रम वा पानीको फोका (बबल) जस्तै भएको टिप्पणी गर्ने गरेका छन्।
यस्तो टिप्पणीलाई यो क्षेत्रका समर्थकहरूले गलत दाबी माने पनि विश्वका केन्द्रीय बैंकहरूको साझा मञ्च तथा नियामक निकाय ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स’ (बीआइएस) ले भने यस प्रकारको अत्यधिक उत्साहमा नबहकिन चेतावनी दिएको छ। अर्कोतर्फ, लगानीकर्ताहरू भने यस क्षेत्रको भविष्यमाथि शङ्का गर्न हिचकिचाइरहेका देखिन्छन्।
स्वीट्जरल्यान्डको बासेलमा मुख्यालय रहेको बीआइएसले सार्वजनिक गरेको विश्व वित्तीय अवस्थासम्बन्धी आफ्नो पछिल्लो वार्षिक प्रतिवेदनमा एआईको विस्तार र यसको आकारमा शङ्का नगरे पनि यस क्षेत्रमा भइरहेको अत्यधिक खर्च पछि गएर भारी पर्न सक्ने चिन्ता व्यक्त गरेको छ।
सन् २०२६ को दोस्रो त्रैमासिकमा अमेरिका र इजरायलबीच इरानमा भइरहेको युद्धको छायाका बीच पनि अमेरिकी चिप निर्माता कम्पनीहरूको सेयर बजारमा ७५ प्रतिशतको ऐतिहासिक वृद्धि देखियो। ठूला एआई पूर्वाधारहरू निर्माण गर्नका लागि प्रमुख प्रविधि कम्पनीहरूले आफ्नो खर्च बढाउने अनुमान गरेपछि यस क्षेत्रमा तीव्र प्रतिस्पर्धा, आपूर्तिमा अवरोध र चिप्सको अभाव देखिएको हो।
यसले गर्दा सन् २०२६ का लागि अमेरिकाको आम्दानी वृद्धिको अनुमान झन्डै २५ प्रतिशत पुगेको छ। यस वर्ष विश्वका पाँच ठूला प्रविधि कम्पनीहरूको एआईमा हुने खर्च मात्रै झन्डै एक खर्ब डलर पुग्ने अनुमान गरिएको छ भने गोल्डम्यान स्याक्सका अनुसार सन् २०३१ सम्ममा यो कुल खर्च ७६ खर्ब डलर पुग्न सक्छ।
फोका वा सुरुवात?
यद्यपि, प्रविधि क्षेत्रका सबैभन्दा ठूला लगानीकर्ता र समर्थकहरू भने यस कुरालाई मान्न तयार छैनन्। सफ्टबैंकका प्रमुख मासायोशी सनले एआईको यो उछाललाई पानीको फोका भन्नु डिजिटल महाबुद्धिमत्ताको अपमान जस्तै भएको बताए। उनले यो त केवल सुरुवात मात्र भएको र एआईको वास्तविक क्षमता खुल्न अझै बाँकी रहेको दाबी गरे।
खर्बौँ डलरको लगानी दाउमा रहेका कारण उनले यस्तो भन्नु स्वाभाविक भए पनि अन्य लगानीकर्ताहरूले पनि यो उछाल उनीहरूले पहिले डर मानेजस्तो अस्थायी फोका मात्र नभएको स्विकार्न थालेका छन्।
डोइचे बैंकले सार्वजनिक गरेको ग्राहक सर्वेक्षणअनुसार ठूला एआई कम्पनीहरूमा लगानीको जोखिम सन् २०२१ यताकै सबैभन्दा कम देखिएको छ। तर, समग्र अमेरिकी प्रविधि क्षेत्रमा भने विगत दुई वर्षदेखि यस्तो जोखिमको अनुभूति उच्च नै रहेको छ।
सायद यही कारणले गर्दा चिप निर्माता कम्पनीहरूका लागि यो त्रैमासिक इतिहासकै सबैभन्दा राम्रो रहे पनि गत जुन महिना ठूला सात प्रविधि कम्पनीहरूका लागि पछिल्लो तीन वर्षकै सबैभन्दा खराब महिना सावित भयो।
कतिपय चिप निर्माता कम्पनीहरूको कमाइको आँकडा वास्तविक भएकाले सेयर बजारको यो वृद्धिलाई स्वाभाविक मान्न सकिन्छ। उदाहरणका लागि, मार्च महिनादेखि ‘माइक्रोन टेक्नोलोजी’ को सेयर मूल्य तीन गुणाले बढेको छ र यसको आम्दानीको अनुमान पनि सोही अनुपातमा बढेको छ।
त्यसैगरी, नोक्सानीमा गइरहेको इन्टेल कम्पनीको सेयर मूल्य झन्डै तीन गुणाले बढ्नु अनौठो देखिए पनि ब्रोडकम र क्वाेलकम जस्ता चिप निर्माताहरूको मूल्याङ्कन इतिहासको तुलनामा अझै सन्तुलित नै देखिन्छ।
बीआइएसको चेतावनी
वित्तीय स्थिरताको निगरानी गर्ने बीआइएस जस्ता निकायहरूको मुख्य काम नै बजार र अर्थतन्त्रमा आउन सक्ने सम्भावित जोखिमहरू औंल्याउनु हो। बीआइएसको प्रतिवेदनले मुख्यतया एआईमा भइरहेको लगानीको गति सधैं टिकिरहन सक्ने कि नसक्ने भन्ने जोखिममा ध्यान केन्द्रित गरेको छ।
थोरै संख्यामा रहेका प्रविधि कम्पनीहरूबीच बजारमा आफ्नो आधिपत्य जमाउने तीव्र प्रतिस्पर्धा चलिरहेको छ।
नियामक निकायले चेतावनी दिँदै भनेको छ कि तीव्र प्रतिस्पर्धाका कारण कम्पनीहरूले एआई परियोजनाहरूमा अत्यधिक पैसा खन्याउन सक्छन्, जसको प्रतिफल अझै अनिश्चित छ।
यदि सोचेजस्तो प्रतिफल आएन भने यसले समग्र क्षेत्रलाई नै जोखिममा पार्न सक्छ। लगानीको तुलनामा प्रतिफल कम हुँदा वा नकारात्मक बन्दा लगानीकर्ताहरूले अचानक हात झिक्न सक्छन्, जसले गर्दा अहिलेको लगानीको बाढी भविष्यमा लामो समयको मन्दीमा परिणत हुन सक्छ र यसको असर समग्र वित्तीय अवस्थामा पर्न सक्छ।
बीआइएसले ऊर्जा उत्पादन, विद्युत् प्रसारण ग्रिड र मेमोरी चिप्सको आपूर्तिमा हुने अवरोधलाई अर्को ठूलो खतराका रूपमा हेरेको छ। अभावबाट बच्न कम्पनीहरूले दीर्घकालीन सम्झौतामार्फत अत्यधिक लगानी गर्ने र पछि माग कम भएमा उनीहरू ठूलो संकटमा फस्ने सम्भावना रहन्छ।
प्रतिवेदनले सबैभन्दा ठूलो चेतावनी दिँदै एआईले अन्ततः आफैंलाई सिध्याउन सक्ने खतरा औंल्याएको छ। यदि एआई समर्थकहरूले दाबी गरेजस्तै यसले मानव श्रम र बुद्धिमत्तालाई पूर्ण रूपमा विस्थापित गर्यो भने, मानिसहरूको आम्दानी घट्नेछ र राष्ट्रिय आम्दानीको ठूलो हिस्सा एआई लगानीमा मात्र जानेछ।
परिणामस्वरुप, कामदारहरूको आम्दानी शून्यतर्फ धकेलिँदा बजारमा सामान किन्ने मानिसहरूको क्रयशक्ति नै बाँकी रहने छैन।
मागको यस्तो अभाव भएपछि कम्पनीहरूले पनि आफ्ना लगानीहरू फिर्ता लिन बाध्य हुनेछन्। प्रविधिको कमजोरीका कारण नभई बजारमा मागको अभावका कारण उत्पादन र उत्पादकत्व ठप्प हुने बीआइएसको भनाइ छ। एआईको यो हतियार दौडमा अहिले पनि धेरैजसो लगानी केवल एउटा भरोसा वा विश्वासका भरमा भइरहेको देखिन्छ।













