६ वर्षअघि आफैँले गरेको त्रिपक्षीय व्यापार सम्झौता ट्रम्पका लागि कसरी बन्दै छ घाँडो ? « Arthapath.com
१८ असार २०८३, बिहिबार

६ वर्षअघि आफैँले गरेको त्रिपक्षीय व्यापार सम्झौता ट्रम्पका लागि कसरी बन्दै छ घाँडो ?



काठमाडौँ । ६ वर्षअघि आफैँले गरेको ऐतिहासिक व्यापार सम्झौता अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि घाँडो बनेको छ।

आफू सत्तामा हुँदा उत्तर अमेरिकी देशहरूबीचको व्यापारलाई नयाँ उचाइ दिने भन्दै तामझामका साथ लागू गरिएको ‘अमेरिका-मेक्सिको-क्यानाडा सम्झौता’ (युएसएमसीए) अहिले ट्रम्पका लागि टाउको दुखाइ बनेको हो।

पुरानो ‘उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता’ (नाफ्टा) लाई विस्थापित गर्दै ट्रम्पले यो नयाँ सम्झौता गरेका थिए। १ जुलाई २०२० देखि लागू गरिएको यो सम्झौताको ६ वर्ष पुगेको अवसरमा बुधबार पहिलो अनिवार्य पुनरावलोकन भएको थियो।

तर, ट्रम्प प्रशासनले यसलाई वर्तमान स्वरूपमा नवीकरण गर्न अस्वीकार गर्दै अनिश्चिततातर्फ धकेलिदिएको छ।

ट्रम्प आफैँले यसलाई इतिहासकै “सबैभन्दा निष्पक्ष र लाभदायक” सम्झौता भनेका थिए। तर, अहिले क्यानाडा र मेक्सिकोसँग अमेरिकाको व्यापार घाटा कम हुनुको साटो झन् बढेपछि उनी असन्तुष्ट छन्।

यसको अब कुनै वास्तविक फाइदा नरहेको भन्दै ट्रम्पले त्रिपक्षीय सट्टा दुईपक्षीय वार्ता मार्फत काम गर्ने रणनीति बनाएका छन्। भर्खरै पेरिस भ्रमणका क्रममा समेत उनले आफू यो सम्झौता नभएकै चाहने तर हस्ताक्षर गर्न पनि सक्ने भन्दै अस्पष्ट कुरा गरेका थिए।

सोही रणनीतिका कारण छिमेकी देशका व्यापारिक नेताहरूसँग भएको अनलाइन बैठक बिनाकुनै सहमति टुङ्गिएको छ। मेक्सिकोका अर्थमन्त्रीले पनि अमेरिकाले सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको पुष्टि गरेका छन्।

यद्यपि, ट्रम्पले सम्झौता खारेज गर्ने धम्की दिए पनि वार्षिक रूपमा करिब २० खर्ब डलरको व्यापार धानिरहेको यो व्यवस्थाबाट बाहिरिनु त्यति सहज छैन। विशेष गरी गाडी उद्योग र सामग्री आपूर्ति सञ्जाल यसैमा पूर्ण रूपमा निर्भर छ।

सम्झौताको नियम अनुसार तत्कालै यो समाप्त हुँदैन। तीनै देश नवीकरणमा सहमत नभएकाले अब आगामी १० वर्षसम्म प्रत्येक वर्ष यसको समीक्षा र बहस हुनेछ र यो सन् २०३६ सम्मका लागि वैध रहनेछ। यदि पूर्ण रूपमा बाहिरिने हो भने पनि कम्तीमा छ महिना अगाडि नै सूचना दिनुपर्ने सर्त छ।

यसबाहेक, अमेरिकी संसद्को अनुमति बिना राष्ट्रपति एक्लैले यति ठूलो सम्झौता रद्द गर्न पाउने कानुनी अधिकारमाथि ठूलो विवाद छ। सन् २०२० मा अमेरिकी सिनेटको वित्त समितिले संसद्को सहमति बिना सम्झौता खारेज गर्न नसकिने स्पष्ट पारेकाले ट्रम्पको यस्तो कदमले अदालतमा चुनौती सामना गर्नुपर्ने देखिन्छ।

विज्ञहरूका अनुसार अमेरिका यो सम्झौताबाट पूर्ण रूपमा बाहिरिने सम्भावना निकै कम छ, किनकि मेक्सिको र क्यानाडा अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन्। हालैका वर्षहरूमा मेक्सिकोले चीनलाई समेत पछि पार्दै अमेरिकामा सबैभन्दा बढी सामान पठाउने देशको स्थान लिएको छ।

यस्तो अवस्थामा हठात् सम्झौता रद्द गरेमा सेयर बजारमा उथलपुथल आउने, आपूर्ति व्यवस्था बिग्रने र बजारमा सामानको अभाव भई महँगी अत्यधिक बढ्नेछ। अमेरिकामा इन्धनको मूल्य वृद्धि भइरहेको र मध्यावधि निर्वाचन समेत नजिकिँदै गरेको अवस्थामा ट्रम्पले यस्तो कडा कदम चालेर राजनीतिक जोखिम मोल्ने सम्भावना न्यून रहेको अर्थशास्त्रीहरूको विश्लेषण छ।


प्रतिक्रिया दिनुहोस्