८ प्रहरी अतिरिक्त महानिरीक्षक सरुवासहित यी हुन् मन्त्रिपरिषद्ले गरेका महत्वपूर्ण निर्णयहरू
काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै विभिन्न सार्वजनिक निकायका रिक्त पदमा नियुक्तिसहित नीति, नियमावली र विधेयकसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पनि गरेको हो।
मन्त्रिपरिषद्ले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरिएको छ भने सुरक्षा मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई जिम्मेवारी दिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए।
बैठकले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै शिक्षा नियमावलीको दशौं संशोधन, २०८३ लाई पनि स्वीकृति प्रदान गरिएको छ।
त्यसैगरी अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न सरकारको तर्फबाट स्वीकृति दिइएको छ। मन्त्रिपरिषद्ले समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसँग सम्बन्धित संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गतको सम्झौतालाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्ने निर्णय पनि गरेको छ।
यससँगै सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ लाई समेत स्वीकृत गरेको छ।













