राष्ट्र बैंकद्वारा असारमा मात्र १ खर्ब ५ अर्बको ऋणपत्र जारी, आज फेरि २५ अर्बको बोलकबोल
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रूपैयाँकाे ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले १ वर्षे अवधिका लागि उक्त वित्तीय उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो।
राष्ट्र बैंकले असारमा यो तेस्रो पटक ऋणपत्र जारी गर्न लागेको हो। बैंकले यसअघि असार १६ गते ३५ अर्ब र १७ गते ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो।
केन्द्रीय बैंकले आज निष्कासन गर्न लागेको २५ अर्ब रुपैयाँ बराबरको यस वित्तीय उपकरणको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ग’ राखिएको छ। यस ऋणपत्रको बोलकबोल आज असार १९ गते मध्यान्ह ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुनेछ भने निष्कासन पनि आजै गरिनेछ।
ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुने जनाइएको छ। लगानीकर्ताहरूले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी पाउनेछन् भने यसको साँवा भुक्तानी आगामी २०८४ असार १९ गते गरिनेछ। यो ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक र वित्तीय संस्थाहरूमा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था छ।
यस ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी काउन्टरपार्टीले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन्।
ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ। आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा वा सो दरभन्दा कम बोलवालालाई ऋणपत्र बिक्री गरिनेछ। समान ब्याजदर बोल गर्ने बोलवालाहरूको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा समानुपातिक रूपमा बाँडफाँट गरिने बैंकले जनाएको छ।













