राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवा सुरु « Arthapath.com
१९ असार २०८३, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवा सुरु



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई घरमै बसेर डिजिटल माध्यमबाट कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन’ सेवा सञ्चालनमा ल्याएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन तथा नतिजामुखी कार्यसम्पादनसम्बन्धी १०० बुँदे कार्ययोजना तथा प्रभावकारी ग्राहक सेवाको अवधारणालाई आत्मसात् गर्दै बैंकले ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ। बैंकका अनुसार कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे ग्राहकमा रहने जिज्ञासा र अन्योल हटाउन डिजिटल माध्यमबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको हो। यसबाट कर्जा प्रक्रिया छिटो, झन्झटरहित र पारदर्शी हुने विश्वास बैंकले लिएको छ।

अनलाइन कर्जा आवेदनका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई ‘क्वीक एक्सेस अन्तर्गत रहेको अनलाइन लोन एप्लिकेशन मा क्लिक गर्नुपर्नेछ। त्यसपछि पोर्टलमा इमेल, प्रयोगकर्ता नाम (युजरनेम) र पासवर्ड राखी दर्ता गर्नुपर्नेछ। दर्तापछि नाम, मोबाइल नम्बरलगायत आवश्यक विवरण प्रविष्ट गरी दिइएको निर्देशनअनुसार आवेदन प्रक्रिया पूरा गर्न सकिने बैंकले जनाएको छ। आवेदन पेश भएपछि त्यसको जानकारी ग्राहकलाई प्राप्त हुनेछ। साथै, ‘ट्र्याक प्रोग्रेस’ सुविधामार्फत आफ्नो आवेदनको अवस्था अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकको सहजताका लागि अनलाइन कर्जा आवेदन पोर्टलको क्यूआर कोड समेत उपलब्ध गराइएको बैंकले जनाएको छ।

बैंकले आम नागरिक, व्यवसायी तथा सरोकारवालालाई अनलाइन कर्जा आवेदन सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ। वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म फैलिएका ३१६ शाखा कार्यालय मार्फत कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्