नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ
काठमाडौं। नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। संघको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंकप्रसाद शेरचन, महासचिवमा ओमप्रकाश बंसल, सचिवमा दीपककुमार फैजू, कोषाध्यक्षमा नरेशकुमार गोयल तथा सह–कोषाध्यक्षमा मनोजकुमार गुप्ता चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा पवनकुमार अग्रवाल, राजेशकुमार हरिलालका, पवनकुमार कलवार, रविकुमार गुप्ता र गौरव सिंघानिया रहेका छन्।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले खाद्य तथा किराना व्यवसायीका साझा समस्याको समाधान, व्यवसायमैत्री वातावरण निर्माण तथा उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउन संघ सक्रिय रहने बताए। उनले देशभरका व्यवसायीलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै व्यवसायिक एकतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
अधिवेशनमा सहभागी व्यवसायीहरूले बजार व्यवस्थापन, आपूर्ति प्रणाली, कर नीति तथा व्यवसाय सञ्चालनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेका थिए। नयाँ कार्यसमितिले व्यवसायीहरूको हित संरक्षण तथा संस्थागत सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास पनि व्यक्त गरिएको छ।













