आज फेरि २० अर्बकाे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दैछ।
नेपाल राष्ट्र बैंकले आज असार २२ गते केन्द्रीय बैंकले १ वर्षे अवधिका लागि २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको हाे।
राष्ट्र बैंकले असारमा यो तेस्रो पटक ऋणपत्र जारी गर्न लागेको हो। बैंकले यसअघि असार १६ गते ३५ अर्ब, १७ गते ४५ अर्ब रुपैयाँ र असार १९ गते फेरि २५ अर्ब रूपैयाँकाे ऋणपत्र जारी गरेकाे थियाे ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ नामक ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।
आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।
यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८४ असार २२ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।
यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।
यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ।













