चुनदेवीबाट सुरु भयो कांग्रेसको आन्तरिक मोर्चाबन्दी: खड्का र निधिको नेतृत्वमा नयाँ कार्यालय स्थापना
संस्थापन पक्षले एकताको पहल नगरेको आरोप लगाउँदै कांग्रेसको असन्तुष्ट समूहले काठमाडौंको चुनदेवीमा आफ्नै सम्पर्क कार्यालय खोलेर १५औँ महाधिवेशनको मोर्चाबन्दी सुरु गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसभित्र विगत आधा वर्षदेखि भुसको आगो झैं सल्किएको आन्तरिक शक्ति संघर्षले अब नयाँ मोड लिएको छ।
पार्टीभित्रको विवाद व्यवस्थापन हुन नसकेपछि असन्तुष्ट पक्षले सोमबारदेखि काठमाडौंको चुनदेवीमा आफ्नो छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएर १५औँ महाधिवेशनको आन्तरिक तयारीलाई औपचारिकता दिएको छ।
पार्टीलाई विभाजनको सङ्कटबाट जोगाउन असन्तुष्ट पक्षको राष्ट्रिय भेला रोक्नुपर्ने र संवादमार्फत एकता कायम गरिनुपर्ने आवाज उठिरहेकै बेला यो नयाँ राजनीतिक कदम चालिएको हो।
नेताहरूका अनुसार बदलिएको परिस्थितिमा नेतृत्वले ठोस पहल नगरे पार्टी गम्भीर विभाजनको दिशातिर धकेलिन सक्ने चेतावनी समेत दिएका छन्।
खड्काको अध्यक्षतामा पहिलो बैठक
चुनदेवीमा स्थापना गरिएको उक्त नयाँ सम्पर्क कार्यालयमा सोमबार नै पहिलो राजनीतिक बैठक बस्दै छ। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने यस बैठकले भावी रणनीति तय गर्ने बुझिएको छ।
बैठकमा विशेष गरी १४औँ महाधिवेशनका क्रममा पूर्वसभापति शेरबहादुर देउवा र खड्काको कित्तामा उभिएका तत्कालीन केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आमन्त्रण गरिएको छ।
यस बैठकलाई कांग्रेसभित्रको शक्ति सन्तुलन फेरबदल हुने एउटा महत्वपूर्ण प्रस्थानविन्दुका रूपमा हेरिएको छ।
एकताको खोजी कि महाधिवेशनको तयारी?
असन्तुष्ट पक्षका प्रभावशाली नेता बिमलेन्द्र निधिले यस नयाँ अखडाको नाम ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’ राखिने जानकारी दिएको खबरहरु प्रकाशित भएका छन् । उनका अनुसार अब यहीँ गुड्डारबाट राष्ट्रिय भेलाको सम्पूर्ण खाका कोरिनेछ, नेताहरूबीच आपसी समन्वय गरिनेछ र महाधिवेशनसँग जोडिएका राजनीतिक गतिविधिहरूलाई तीव्रता दिइनेछ।
नेता निधिले आफूहरू अझै पनि पार्टीको अक्षुण्ण एकताकै पक्षमा वकालत गरिरहेको भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।
यद्यपि, संस्थापन पक्षले पार्टीलाई एकढिक्का बनाउनका लागि आवश्यक राजनीतिक तदारुकता र उदारता नदेखाएका कारण आफूहरू यो बाटो रोज्न बाध्य भएको गुनासो उनले गरेका छन्।













