आर्थिक संकटबाट श्रीलङ्काको ‘बाउन्स ब्याक’, बाँकी संसारको के छ हालत ? « Arthapath.com
२२ असार २०८३, सोमबार

आर्थिक संकटबाट श्रीलङ्काको ‘बाउन्स ब्याक’, बाँकी संसारको के छ हालत ?



आर्थिक संकटको तीन वर्षपछि पर्यटन र रेमिट्यान्समा भएको सुधारका कारण श्रीलङ्का पुनः उच्च-मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ।

काठमाडौँ । विगत तीन वर्षअघि चरम आर्थिक संकटको सामना गर्दै पतनको सङ्घारमा पुगेको टापु राष्ट्र श्रीलङ्काको अर्थतन्त्रमा उल्लेख्य सुधार आएको छ। विश्व बैंकले श्रीलङ्कालाई न्यून-मध्यम आय भएको देशको सूचीबाट स्तरोन्नति गर्दै पुनः उच्च-मध्यम आय भएको अर्थतन्त्रको दर्जा दिएको छ।

विश्व बैंकले गत बुधबार (१ जुलाई २०२६ मा) सार्वजनिक गरेको पछिल्लो देशहरूको आय वर्गीकरण प्रतिवेदनअनुसार सन् २०२५ मा श्रीलङ्काको अर्थतन्त्र ५ प्रतिशतले विस्तार भएपछि यो सफलता मिलेको हो।

यसअघि सन् २०१९ मा पनि श्रीलङ्का पहिलोपटक उच्च-मध्यम आयको सूचीमा परेको थियो। तर आर्थिक वृद्धिदर सुस्त हुनुका साथै आन्तरिक र बाह्य दबाबका कारण आम्दानीको स्तर खस्किएपछि यो देश एक वर्षभित्रै पुनः न्यून-मध्यम आयको सूचीमा झरेको थियो।

द हिन्दु पत्रिकाका अनुसार श्रीलङ्काका उद्योगहरूमा आएको व्यापक सुधार, पर्यटन व्यवसायमा भएको वृद्धि र वित्तीय सेवा क्षेत्रको विस्तारले अर्थतन्त्रलाई बलियो बनाएको हो।

विश्व बैंकले आफ्नो प्रतिवेदनमा श्रीलङ्काको यो यात्रालाई ‘पुनरुत्थानको कथा’ को रूपमा वर्णन गरेको छ। प्रतिवेदनमा भनिएको छ- सन् २०२२ मा चरम आर्थिक संकटले देशलाई पतनको सङ्घारमा पुर्‍याएको ठीक तीन वर्षपछि उद्योगहरूको पुनरुत्थान तथा वित्तीय र पर्यटन सेवाको विकासका कारण सन् २०२५ मा वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशतले बढेको छ।

विश्व बैंकले यो वर्गीकरणलाई देशको दृढता र जुझारुपनको प्रतीक भएको बताएको छ । यद्यपि श्रीलङ्काले यो सीमा एकदमै झिनो अन्तरले मात्र पार गरेको हो।

आर्थिक सुधारका मुख्य आधार

श्रीलङ्काको यो पुनरुत्थान हुनुमा पर्यटन क्षेत्रको सफलता, वैदेशिक रोजगारीमा गएका कामदारहरूले पठाउने रेमिट्यान्समा भएको वृद्धि र बाह्य क्षेत्रको मजबुत प्रदर्शनलाई मुख्य कारण मानिएको छ।

लगातार दुई वर्षसम्म संकुचन बेहोरेको अर्थतन्त्र फेरि वृद्धितातर्फ फर्किएपछि यो सम्भव भएको हो। यो नयाँ वर्गीकरणले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोगमा सञ्चालित दूरगामी आर्थिक स्थायित्व प्रयास, वित्तीय सुदृढीकरण, मौद्रिक सुधार र वैदेशिक ऋणको पुनर्संरचनामार्फत देशले गरेको प्रगतिलाई दर्शाउँछ।

यसअघि सन् २०१९ मा भएको ‘इस्टर सन्डे’ बम विस्फोटको घटना, कोभिड-१९ महामारी र त्यसपछिको भुक्तानी सन्तुलनको संकटका कारण श्रीलङ्का सन् २०२२ मा इतिहासमै पहिलोपटक ऋण तिर्न नसक्ने अवस्था (सोभरेन डिफल्ट) मा पुगेको थियो। जसले गर्दा अर्थतन्त्र दशकौँ यताकै सबैभन्दा गहिरो मन्दीमा धकेलिएको थियो।

विश्व बैंकको वर्गीकरण

विश्व बैंकले अघिल्लो वर्षको प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानीको अनुमानका आधारमा देशहरूलाई उच्च, उच्च-मध्यम, न्यून-मध्यम र न्यून गरी चारवटा आय समूहमा वर्गीकरण गर्ने गर्दछ।

श्रीलङ्काले हासिल गरेको यो उपलब्धि हालैको वित्तीय संकटपछि देशको आर्थिक पुनरुत्थानको एक प्रतिकात्मक सङ्केत हो। विश्व बैंकको यो वर्षको संस्करणमा २१८ वटा देशहरूलाई समेटिएको छ र यो नतिजा सन् २०२७ को जुन महिनाको अन्त्यसम्मका लागि विश्वव्यापी सन्दर्भको रूपमा रहनेछ।

दक्षिण एसियाका अरु मुलुकको स्थिति

अफगानिस्तानलाई छाड्ने हो भने नेपाल नै त्यस्तो देश हो, जो दक्षिण एसियामा सबैभन्दा लामो समय ‘न्यून आय’ अर्थात् सबैभन्दा गरिबहरुको समूहमा रह्यो । सन् २०१९ मा मात्रै नेपाल ‘न्यून–मध्येम’ आयस्तरमा उक्लिएको थियो ।

सन् २०१४ मा बाङ्लादेश र म्यानमार (बर्मा) एकसाथ गरिब मुलुकबाट न्यून–मध्येम वर्गमा स्तरोन्नती भएका थिए । त्यसअघि सन् २००८ पा पाकिस्तान, सन् २००७ मा भारत, सन् २००६ मा भुटान, सन् १९९७ मा श्रीलङ्का र सन् १९९३ मा माल्दिभ्स गरिबको सूचीबाट एक खुड्किला माथि उक्लिएका हुन् ।

सार्कका सदस्य मुलुकमध्ये अफगानिस्तान अहिले पनि न्यूनआय (गरिब)कै सूचीमा छ भने माल्दिभ्स श्रीलङ्का ‘उच्च–मध्येम आय’ स्थितिमा पुगेका छन् । विश्व बैंकको तथ्यांक अनुसार माल्दिभ्स सन् २०१० मा चीन र थाइल्याण्ड सँगै एकसाथ ‘उच्च–मध्येम’ वर्गमा उक्लिएको थियो ।

श्रीलङ्का भने २०१८ मा उक्लिएर पनि ओर्लिएको थियो, जुन अब पुन: त्यही उच्च स्थानमा फर्किएको छ ।

अन्यत्रको के छ हालचाल ?

विश्व बैंकको तथ्यांक अनुसार अहिले पनि संसारका २५ मुलुकहरु ‘न्यून आय’ भएको समूहमा छन् । यो सूचीमा अफगानिस्तान, सिरिया, येमन, उत्तरकोरिया जस्ता एसियाली देशका साथै ज्यादातर साहारा मरुभूमिका मध्येअफ्रिकी मुलुकहरु पर्छन् ।

सुडान, इथियोपिया, चाड, कङ्गो, सोमालियाजस्ता मुलुकहरु यो सूचीमा छन् ।

युरोपका ज्यादातर देशहरु, अमेरिका, रुस, जापान, अस्ट्रेलिया, न्यूजिल्याण्ड, साउदी अरब, दक्षिण कोरिया, यूएई, चिली, उरुग्वेजस्ता ८७ मुलुकहरु अहिले ‘उच्च आय’ भएका अर्थात् धनी मुलुक छन् ।

सबैभन्दा धनी र गरिबको बीचमा दुईटा वर्ग छुट्याइएको छ, जसमा अलिकति धनीहरुको संख्या ५९ छ भने अलि गरिब (न्यून–मध्येम आय) मुलुकहरुको संख्या ४७ छ । हाम्रो देश नेपाल यही ४७ मध्ये एक हो ।

थुप्रै अफ्रिकी मुलुक र दक्षिण एसियाली देशहरु यो समूहमा देखिएका छन् । मध्ये–एसियाका पूर्व–सोभियत मुलुकहरु उज्वेकिस्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता देश पनि यही सूचीमा छन् भने ल्याटिन अमेरिकाका भेनेजुयला र बोलिभिया पनि नेपालकै जस्तो आयस्तरमा छन् ।


प्रतिक्रिया दिनुहोस्