अन्तर्राष्ट्रिय ब्रान्डको सस्तो नक्कल बेच्ने भियतनामकाे अर्बौँको बजार संकटमा, बन्द गर्न अमेरिकाले किन दियाे दबाब ? « Arthapath.com
२२ असार २०८३, सोमबार

अन्तर्राष्ट्रिय ब्रान्डको सस्तो नक्कल बेच्ने भियतनामकाे अर्बौँको बजार संकटमा, बन्द गर्न अमेरिकाले किन दियाे दबाब ?



काठमाडौँ । भियतनामका व्यस्त बजारहरू वर्षौंदेखि संसारका महँगा ब्रान्डका दुरुस्तै देखिने सस्तो नक्कली सामानका लागि चर्चित छन्।

तर, पछिल्लो समय भियतनामी अधिकारीहरू देशको यो ‘नक्कली बजारको केन्द्र’ भन्ने बदनाम छवि बदल्न कडा रूपमा प्रस्तुत हुन थालेका छन्।

हालै त्यहाँको प्रहरीले एउटा सहरको बाहिरी इलाकामा रहेका दुईवटा गोदाममा छापा मारेर प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका लोगो लागेका २३ हजार जोरभन्दा बढी नक्कली चप्पल बरामद गर्‍यो। करिब ७६ हजार अमेरिकी डलर बराबरको सामान जफत गरिएको यो अभियान वर्षौंदेखि खुल्लमखुल्ला फस्टाइरहेको अवैध कालोबजारीविरुद्धको एउटा ठूलो कदम हो।

भियतनाममा नक्कली सामानको व्यापार कुनै लुकेर हुने गतिविधि होइन। पर्यटकको भीड लाग्ने बजारहरूमा महँगा ब्रान्डका जुत्ता, हातेझोला, कपडा, घडी र अन्य फेसन सामग्रीका हुबहु नक्कल सजिलै भेटिन्छन्। विदेशमा सयौं डलर पर्ने सामानको जस्तै देखिने वस्तु यहाँ केही दर्जन डलरमै बिक्री हुने भएकाले स्वदेशी उपभोक्ता मात्र होइन, विदेशी पर्यटक पनि आकर्षित हुने गरेका छन्। यही कारण भियतनाम लामो समयदेखि सस्तो नक्कली बजारको केन्द्रका रूपमा चिनिँदै आएको थियो।

तर अहिले यो तस्वीर बदलिँदै छ। यसको सबैभन्दा ठूलो कारण अन्तर्राष्ट्रिय व्यापारिक दबाब हो। बौद्धिक सम्पत्तिको पर्याप्त संरक्षण नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले भियतनामलाई चेतावनीपूर्ण सूचीमा राखेपछि त्यहाँको सरकार झस्किएको हो।

अहिले भियतनाम सरकारले आफ्नो व्यापारिक छवि सुधार्न सक्रियता बढाएको छ। विशेष गरी अतिरिक्त भन्सार शुल्क वा अन्य व्यापारिक अवरोधको जोखिम टार्न सरकारले नक्कली वस्तु उत्पादन, आयात र बिक्री गर्ने सञ्जालमाथि व्यापक निगरानी सुरु गरेको छ। मे महिनाको अन्तिम तीन हप्तामा मात्रै प्रहरीले १,४०० भन्दा बढी उल्लंघनका घटनामा कारबाही गरेको तथ्यांक बाहिरिएकाे छ।

कारबाही बढेसँगै व्यापारीहरूको रणनीति पनि बदलिएको छ। पहिले पसलको अगाडिको भागमै राखिने नक्कली ब्रान्डका सामान अहिले खुलेर प्रदर्शन गर्न छाडिएको छ। ग्राहकले विशेष रूपमा माग गरेपछि मात्रै गोदाम वा भित्रको कोठाबाट सामान निकालेर देखाउने प्रवृत्ति बढेको छ। यसले बजार सतहमा शान्त देखिए पनि भित्री कारोबार अझै पूर्ण रूपमा रोकिएको छैन भन्ने संकेत गर्छ।

भियतनाममा भित्रिने अधिकांश नक्कली सामानको जरा उत्तरी छिमेकी चीनसँग जोडिन्छ। चीनमा ठूलो परिमाणमा उत्पादन हुने यस्ता सामान थोक व्यापारीहरूले सस्तोमा आयात गरी देशका साना पसलहरूमा पुर्‍याउँछन्।

कतिपय अवस्थामा महँगा ब्रान्डका कपडा वा छाला काट्ने र सिलाउने काम एसियाकै फ्याक्ट्रीमा हुने हुँदा, त्यहाँका मजदुरहरूको सीप र कच्चा पदार्थ सजिलै यस्ता अवैध बजारसम्म आइपुग्ने गरेको विज्ञहरू बताउँछन्।

बजारमा सरकारी निगरानी बढे पनि कतिपय व्यापारीहरूले ब्रान्ड देखिने सामान अगाडि राख्न छाडेर ग्राहकले मागेपछि भित्र गोदामबाट ल्याएर दिने गुप्त उपाय अपनाइरहेका छन्।

सरकारको यो कदमलाई लिएर स्थानीय नागरिक र व्यवसायीहरूमा दुईथरी धारणा पाइएको छ। मौलिक सामान उत्पादन गर्ने फेसन डिजाइनर तथा व्यवसायीहरू यो कदमबाट उत्साहित छन्। उनीहरूका अनुसार यो नक्कली बजारले वास्तविक उत्पादकको अधिकार मात्र हनन गरेको छैन, खुद्रा बजारलाई नै एउटा मजाक बनाइदिएको छ। मानिसहरू नक्कली ब्रान्डको पहिरनलाई बढी मूल्य तिर्न तयार हुन्छन्, तर व्यवसायीले मिहिनेत गरेर बनाएको मौलिक सामानलाई त्यसको आधा मूल्य माग्दा पनि कचकच गर्छन्।

अर्कोतर्फ, न्यून आय भएका सर्वसाधारण भने यो कारबाहीबाट खुसी छैनन्। भियतनामको ठूलो जनसंख्या अझै पनि ग्रामीण क्षेत्रमा बस्छ, जहाँ औसत मासिक आम्दानी मात्र २२५ डलर मात्र छ। उपभोक्ताहरूका अनुसार महँगा सामान किन्न नसकिने र सस्तोमा उस्तै सामान पाइने भएकाले उनीहरू यस्ता बजारमा आकर्षित भएका हुन्।

विज्ञहरूका अनुसार यो बजार पूर्ण रूपमा निर्मूल पार्न असम्भव प्रायः छ। महँगा ब्रान्डका वास्तविक ग्राहक र यी नक्कली सामान किन्ने ग्राहकको वर्ग नै छुट्टै भएकाले अन्तर्राष्ट्रिय ब्रान्डलाई यसबाट खासै घाटा हुँदैन।

कडा कानुनबाट बच्न व्यवसायीहरूले नाम र लोगोमा हल्का फेरबदल गरेर कानुनी फन्दाबाट जोगिने तर उपभोक्तालाई उस्तै स्वरूप दिने नयाँ जुक्ति निकाल्न थालेका छन्। जबसम्म बजारमा सस्तो सामानको माग रहिरहन्छ, तबसम्म सरकारले जतिसुकै कडाइ गरे पनि कुनै न कुनै रूपमा यो बजार अस्तित्वमा रहिरहने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्