कर्जा विस्तारमा मौद्रिक नीति असफल, अनुमानको आधामात्रै उपलब्धी
काठमाडौँ । पछिल्ला चार वर्षभन्दा लामो समयदेखिको आर्थिक सुस्तताका बाबजुद यो साल पनि केन्द्रीय बैंक आफ्नो मौद्रिक लक्ष्य हासिल गर्न असफल भएको छ ।
राष्ट्र बैंकले निजी क्षेत्रमा प्रवाह हुने कर्जा यो आर्थिक वर्षमा १२ प्रतिशत हाराहारी विस्तार हुने प्रक्षेपण गरेको थियो । तर वैशाख मसान्तसम्मको स्थिति हेर्दा यस्तो विस्तार केवल साढे ६ प्रतिशत हाराहारीमात्रै रहेको देखिएको छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वार्षिक समीक्षा प्रतिवेदनमा यस्तो विवरण उल्लेख छ । विस्तृत मुद्रा प्रदायको बृद्धिदर अनुमान भन्दा बढी अर्थात् १५.२ प्रतिशत बढे पनि निजी क्षेत्रमा प्रवाह हुने कर्जा ६.७ प्रतिशतमात्रै बृद्धि भएको आँकडा केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।
यस आँकडाले एकातिर नेपाली मुद्राको अवमूल्यन् भइरहेको र अर्कातिर स्वदेशमा लगानीको विस्तार खुम्चिँदै गएको देखाएको छ । यस आधारमा अझै पनि केही समय अर्थतन्त्र पूर्णत: चलायमान बन्ने संभावना कमजोर भएको संकेत मिलेका छन् ।













