मौद्रिक नीति सार्वजनिक, ब्याजदर र तरलता व्यवस्थाहरु सबै यथावत (पूर्णपाठ) « Arthapath.com
२३ असार २०८३, मंगलबार

मौद्रिक नीति सार्वजनिक, ब्याजदर र तरलता व्यवस्थाहरु सबै यथावत (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । नयाँ मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ निजी क्षेत्रतर्फको कर्जा प्रवाहलाई ११ प्रतिशत र विस्तृत मुद्रा प्रदाय (ब्रड मनी सप्लाई) लाई १४ प्रतिशतको सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ ।

गभर्नर पौडेलका अनुसार मुलुकमा भित्रिने रेमिट्यान्स, पर्यटन आय र सार्वजनिक खर्चमा हुने बढोत्तरीले बजारमा थप तरलता प्रवाह हुने र यसले तरलता व्यवस्थापनमा कुनै दबाब नपर्ने बैंकको आकलन रहेको छ ।

मौद्रिक नीतिले ब्याजदर करिडोर अन्तर्गतका प्रमुख नीतिगत दरहरूलाई यथावत राख्ने निर्णय गरेको छ । यसअन्तर्गत स्थायी निक्षेप सुविधा दर र बैंक दरमा कुनै परिवर्तन गरिएको छैन । त्यसैगरी, अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थाहरूलाई पनि निरन्तरता दिइएको छ ।

बैंकले बजारमा उपलब्ध तरलताको प्रकृति अनुसार उपयुक्त व्यवस्थापन उपकरणहरू प्रयोग गर्ने नीति लिएको छ ।

नयाँ मौद्रिक नीतिले सर्वसाधारण निक्षेपकर्ता, ऋणी र बैंक तथा वित्तीय संस्थाहरू सबैको हित संरक्षण हुने गरी नीतिगत सुधारमा जोड दिएको छ । मौद्रिक नीतिसँगै बैंकले ’म्याक्रोइकोनोमिक रिपोर्ट २०२४ जुलाई’ समेत सार्वजनिक गरेको छ । जसले समष्टिगत अर्थतन्त्रको वर्तमान दृश्य र भविष्यको प्रक्षेपणलाई समेटेको छ ।

गभर्नर पौडेलले मौद्रिक नीति र नियामकीय व्यवस्थाका सम्बन्धमा देखिएका थप जिज्ञासाहरूको समाधानका लागि बैंकका सम्बन्धित पदाधिकारीहरूले पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने समेत स्पष्ट पारेका छन् । ।


प्रतिक्रिया दिनुहोस्