साढे ६ खर्ब कर्जा विस्तार गर्ने अनुमान सहित नयाँ मौद्रिक नीति सार्वजनिक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । उक्त मौद्रिक नीतिले यसअघिकै ‘लचिलो’ रुझानलाई कामयै गर्ने भनेको छ ।
अर्थतन्त्र शिथिल भइरहेका बेला राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउन सम्भव थिएन, त्यसै अनुसार नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ ।
यस अनुसार आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जाको विस्तार ११ प्रतिशत पुग्ने प्रक्षेपण राष्ट्र बैंकको छ । चालू आर्थिक वर्षमा १२ प्रतिशत कर्जा विस्तार हुने भएको भए पनि १० महिनासम्म साढे ६ प्रतिशतमात्रै कर्जा बढ्न सकेको छ ।
यसलाई हेरेर राष्ट्र बैंकले अघिल्लो सालभन्दा अनुमानित कर्जा विस्तारको सीमा नै कटौति गरेको छ ।
यस्पि, यही सीमा अनुसारको कर्जा विस्तार हुँदा पनि ६ खर्ब ५२ अर्बभन्दा बढी थप ऋण प्रवाह हुनुपर्ने देखिन्छ ।
गत सातासम्म नेपालका बैंक तथा वित्तीय संस्थाले ५९ खर्ब ३० अर्ब कर्जा प्रवाह गरेका छन् । यसमा ११ प्रतिशत थपियो भने ६५ खर्ब ८२ अर्ब पुग्ने छ ।
राष्ट्र बैंकले विस्तृत मुद्रा प्रदाय १४ प्रतिशत हुने अनुमान गरेको छ ।
तर राष्ट्र बैंकले ब्याजदरलाई भने परिवर्तन गरेको छैन । मौद्रिक नीतिको सबैभन्दा ठूलो हतियार मानिने ब्याजदरका सबै सीमाहरु यथावत राखिएका छन् ।
ब्याजदर करिडोर अन्तरगतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर र बैंक दरलाई यथावत राखिएको राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बताए ।
त्यस्तै, अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवम् स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थाहरुलाई पनि यथास्थितिमै निरन्तरता दिइएको भनिएको छ ।
तर ‘तरलताको प्रकृति अनुसारका उपकरण प्रयोग गर्ने नीति लिइएको’ भनेर गभर्नरले आफ्नो सम्बोधनमा भनेका छन् ।













