लुम्बिनी विकास बैंकको सीईओका लागि ३ जना सर्टलिस्टमा, कसले मार्ला बाजी ?
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि ३ जनाको नाम सर्ट लिस्ट भएको छ।
बैंकको सिईओ पदका लागि भेषराज खतिवडा, कविराज अधिकारी, मुकुन्द सुवेदी, प्रविन बस्नेत, उमेश रेग्मी र सुमन आचार्य गरी ६ जनाले आवेदन दिएका थिए ।
खतिवडा यसअघि तत्कालीन किष्ट बैंक, तत्कालीन प्रभु बैंक हुँदै एनआइसी एसिया बैंकमासमेत काम गरेका पुराना बैंकर हुन् । कविराज अधिकारी राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सिइओबाट रिटायर भएर सामाजिक सुरक्षा कोषको सिइओ हुँदै हालै सरकारले अध्यादेशमार्फत हटाएको हो । बस्नेत कामना सेवा बैंकको पूर्व सिइओ हुन् ।
तीमध्ये मुकुन्द सुवेदी, उमेश रेग्मी र सुमन आचार्यको नाम सर्टलिस्टमा परेको हो ।
वर्तमान प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराको दुई कार्यकाल (८ वर्ष) आगामी साउनमा सकिँदैछ।
संवत् २०७५ साउन २ गते पहिलो पटक बैंकको नेतृत्व सम्हालेका बोहराले बैंकलाई एक बलियो, प्रविधिमैत्री र सुशासित संस्थाको रूपमा स्थापित गर्दै आगामी महिनाबाट आफ्नो कार्यकालको सफल विश्राम लिने तयारी गरेका छन् ।
यसै कारण बैंकले नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको हो।
अब सर्टलिस्टमा परेका ३ उम्मेदवारमध्येबाट बैंकको सञ्चालक समितिले उत्कृष्ट एक जनालाई आगामी ४ वर्षका लागि नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ।
को हुन् सर्टलिस्टमा ३ परेका उम्मेदवार ?
मुकुन्द सुवेदीसँग नेपाली बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो र विविध अनुभव हासिल गरेका व्यक्ति हुन् । पछिल्लो समय कुमारी बैंकमा उच्च व्यवस्थापकीय तह (सञ्चालन अधिकृत) मा रहेर उनले बैंकको आन्तरिक सञ्चालन, जोखिम व्यवस्थापन र व्यावसायिक रणनीतिमा कुशल नेतृत्व प्रदान गरिसकेका छन्।
उमेश रेग्मी भने लुम्बिनी विकास बैंककै आन्तरिक प्रणाली र व्यवसायलाई नजिकबाट बुझेका अनुभवी बैंकर हुन्। लामो समयदेखि बैंकको उच्च व्यवस्थापनमा रहेका रेग्मी यसअघि बैंकको तर्फबाट लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालक समिति सदस्य समेत भइसकेका छन्।
उनी तत्कालीन शिखर फाइनान्स र लुम्बिनी लेजिङ एण्ड फाइनान्स कम्पनीको नेतृत्व सम्हालिसकेका व्यक्ति हुन् । बैंकको कर्जा, रिकभरी र समग्र रणनीतिक योजनामा उनको बलियो पकड रहेको छ। बैंककै आन्तरिक उम्मेदवार भएकाले उनको दाबेदारीलाई बलियो रूपमा हेरिएको छ।
सुमन आचार्य चाहीँ साविक सिभिल बैंक लिमिटेडको चिफ बिजनेश अफिसर भएर काम गरिसकेका अनुभवी बैंकर हुन्। सिभिल बैंक र हिमालयन बैंकबीच मर्जर हुँदा सिभिलबाट गाभिने सबैभन्दा बरिष्ठ कर्मचारी नै आचार्य थिए ।
उनलाई मर्जरपछिको हिमालयन बैंकमा सहायक महाप्रबन्धक पद दिइएको थियो । तर त्यहाँ सिभिलबाट आउने कर्मचारीले आफूहरु बहिस्कृत भएको मसहुस गरिरहँदा आचार्य भने लुम्बिनी विकास बैंकमा प्रवेश गरेका थिए ।
हाल उनी सोही बैंकमा डेपुटी सीईओको रूपमा कार्यरत छन्। व्यापार प्रवर्द्धन र व्यावसायिक रणनीतिमा उनको राम्रो अनुभव रहेको छ।
कसले छान्दै छ नयाँ सीईओ ?
बैंक सञ्चालक समितिले नयाँ सीईओ भर्तिका लागि तीन जना सञ्चालकहरु भएको एउटा छनोट समिति गठन गरेको छ ।
उक्त समितिको संयोजकमा बैंकका सञ्चालक प्रजन प्रधान छन् भने सदस्यहरुमा रामचन्द्र सिग्देल र जयदेव श्रेष्ठ रहेका छन् । उनीहरुले नै सञ्चालक समिति अध्यक्ष चिन्तामणी भट्टराईसँगको समन्वयमा नयाँ निसीईओ नियुक्तिको सिफारिस गर्ने भएका हुन् ।
प्रधान र सिग्देल दुबै जना ज्योती ग्रुपको तर्फबाट बैंकको संचालक छन् । छनोट समितिमा बहुमत पुग्ने गरी ज्योति ग्रुपको प्रतिनिधित्व रहेका कारण अब बन्ने सीईओको छनोटमा ज्योति ग्रुपको भूमिका सबैभन्दा बढी हुनसक्ने ठानिएको छ ।
उक्त समूहले मुकुन्द सुवेदीलाई सिईओ बनाउने लविङ गरिरहेको बैंक स्रोतको दाबी छ । स्रोतका अनुसार सुवेदी रुपज्योती ग्रुपको परामर्शदाता भएर पनि काम गरेका व्यक्ति हुन् ।
बैंकको अहिलेका सीईओ बोहरालाई भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको ज्योति समूहले यस पल्ट पनि आफ्नो पकड राख्ने कोसिस गरेको छ । तर अरु सञ्चालकहरु भने एउटै समूहले नेतृत्व निर्धारण गरिरहँदा बैंकको वित्तीय स्वास्थ्य र संस्थागत सुशासनमा असर पर्नसक्ने भन्दै आलोचना गरिरहेका छन् ।
यता, बैंकको सञ्चालक समिति अध्यक्ष भट्टराईले भने आचार्यको पक्षमा देखिनसक्ने अड्कल काटिएको छ । सिभिल बैंकलाई हिमालयनमा गाभिएपछि भट्टराईले नै उनलाई डेपुटी सीईओ बनाएर लगेका थिए ।
यस्तो दोहोरो ‘च्वाइस’का बीचमा रेग्मीले बाजि मार्न सक्ने संभवनालाई पनि कम आँक्न नमिल्ने बैंकका एक उच्च अधिकारीले बताए । उनी अहिले पनि बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत छन् ।
(यसअघिको तस्बिरमा सुमन आचार्यको तस्बिर अन्यथा पर्न गएकोमा क्षमाप्रार्थि छौँ ।)













