‘तेज’ ब्राण्डकाे तोरीको तेल उत्पादक सिद्धार्थ आयलको व्यापारमा उछालः  नाफा र ऋण भुक्तानी क्षमता पनि थप बलियो « Arthapath.com
२४ असार २०८३, बुधबार

‘तेज’ ब्राण्डकाे तोरीको तेल उत्पादक सिद्धार्थ आयलको व्यापारमा उछालः  नाफा र ऋण भुक्तानी क्षमता पनि थप बलियो



काठमाडाैं । पछिल्ला चार वर्षयता सिद्धार्थ आयल इन्डष्ट्रिजको व्यापार निरन्तर विस्तार हुँदै गएको छ। चालु आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामै कम्पनीले १ अर्ब १ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।

व्यापार, नाफा र ऋण भुक्तानी क्षमतामा आएको सुधारसँगै मूल्याङ्कन संस्था इक्रा नेपालले कम्पनीको बैंकिङ कर्जा सुविधासम्बन्धी मूल्याङ्कनलाई पनि यथावत् राखेको छ। कम्पनीले एक अर्ब ११ करोड ४० लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि मूल्याङ्कन गराएको छ। यसअन्तर्गत ३७ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जालाई ‘एल डबल बी माइनस’ तथा एक अर्ब ११ करोड तीन लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जालाई ‘ए फोर’ श्रेणीको मूल्याङ्कन दिइएको छ।

कम्पनीले आर्थिक वर्ष २०२३ मा १ अर्ब ५ करोड २० लाख रुपैयाँ, २०२४ मा १ अर्ब १६ करोड ३० लाख रुपैयाँ र २०२५ मा १ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो।

व्यापारसँगै कम्पनीको सञ्चालन नाफामा पनि उल्लेख्य सुधार देखिएको छ। विश्व बजारमा खाने तेल उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थको मूल्यमा आएको तीव्र उतारचढावका कारण सन् २०२५ मा सञ्चालन नाफा मार्जिन १.४ प्रतिशत मा सीमित भएको थियो। तर चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कच्चा पदार्थको मूल्य अपेक्षाकृत स्थिर रहनु र बिक्रीबाट हुने आम्दानीमा सुधार आउनुका कारण सञ्चालन नाफा मार्जिन बढेर ६.८ प्रतिशत पुगेको छ।

ब्याजदरमा आएको कमी र सञ्चालन नाफामा भएको सुधारले कम्पनीको ऋण भुक्तानी क्षमता पनि बलियो बनेको मूल्याङ्कन गरिएको छ। सन् २०२५ मा कम्पनीको ब्याज तिर्न सक्ने क्षमता ०.६ गुणा रहेकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो बढेर ५ गुणा पुगेको छ। त्यसैगरी समग्र ऋण भुक्तानी क्षमता ०.५ गुणा बाट बढेर ४.६ गुणा पुगेको छ। यसले कम्पनीको नगद प्रवाह र ऋण तिर्ने क्षमता अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा सुदृढ भएको देखाउँछ।

यद्यपि, कम्पनीको चालु पुँजीको आवश्यकता भने बढेको देखिएको छ। ढिलो असुली हुने बक्यौता र गोदाममा मौज्दात बढेकाले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सञ्चालन आम्दानीको तुलनामा चालु पुँजीको अनुपात ५५ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत थियो। यसले कम्पनीको तरलता व्यवस्थापनमा अझै चुनौती रहेको सङ्केत गरेको छ।

मूल्याङ्कन संस्थाले कम्पनीको दुई दशकभन्दा लामो सञ्चालन अनुभव, खाने तेलको स्थिर माग, नेपाल–भारत सीमासँगै रहेको उद्योगको भौगोलिक सुविधा तथा प्रवर्द्धक समूहको विविध व्यवसायिक अनुभवलाई सकारात्मक पक्षका रूपमा उल्लेख गरेको छ। तर कच्चा पदार्थका लागि आयातमा निर्भरता, विश्व बजारको मूल्य उतारचढाव, विनिमय दरको जोखिम तथा नियामकीय परिवर्तनले कम्पनीको नाफा र वित्तीय अवस्थामाथि प्रभाव पार्न सक्ने जोखिम भने अझै कायम रहेको जनाएको छ।

सन् १९९९ देखि सञ्चालनमा रहेको सिद्धार्थ आयल इन्डष्ट्रिज सिद्धार्थ समूहअन्तर्गत सञ्चालित कम्पनी हो। कम्पनीले ‘तेज’ ब्रान्डमा तोरीको खाने तेल उत्पादन गर्दै आएको छ। रुपन्देहीमा रहेको यसको उत्पादन केन्द्रबाट स्वदेशी बजारसँगै भारतमा पनि सहउत्पादन बिक्री गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्