लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कार्यभार सम्हाल्ने
काठमाडौँ । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमन आचार्य नियुक्त भएका छन्।
बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी ४ वर्षका लागि बैंकको नेतृत्व सुम्पिने निर्णय गरेको हो।
बैंकका अनुसार उनको यो नियुक्ति आगामी साउन १ गतेदेखि लागू हुनेछ।
यो पदका लागि बैंकिङ क्षेत्रका ६ जना अनुभवी व्यक्तिहरू प्रतिस्पर्धामा थिए, जसमा आचार्यसहित भेषराज खतिवडा, कविराज अधिकारी, मुकुन्द सुवेदी, प्रविन बस्नेत र उमेश रेग्मीले आवेदन दिएका थिए। ती सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै सञ्चालक समितिले आचार्यलाई बैंकको सर्वोच्च पदका लागि योग्य ठहर गरेको हो।
नवनियुक्त सीईओ आचार्यसँग बैंकिङ क्षेत्रमा व्यापार प्रवर्द्धन र व्यावसायिक रणनीति निर्माणको लामो एवं सफल अनुभव छ। उनी साविकको सिभिल बैंक लिमिटेडमा चिफ बिजनेश अफिसर (सीबीओ) का रूपमा कार्यरत रहिसकेका अनुभवी बैंकर हुन्। सिभिल बैंक र हिमालयन बैंकबीच मर्जर हुँदा सिभिलका तर्फबाट गाभिने कर्मचारीहरूमध्ये उनी नै सबैभन्दा वरिष्ठ थिए ।मर्जरपछि उनलाई हिमालयन बैंकमा सहायक महाप्रबन्धक पदको जिम्मेवारी दिइएको थियो।
तर, मर्जरपछिको नयाँ वातावरणमा सिभिल बैंकबाट आएका कर्मचारीहरूले आफूहरू बहिष्कृत भएको महसुस गरिरहेका बेला आचार्यले हिमालयन बैंक छाडेर लुम्बिनी विकास बैंकमा प्रवेश गर्ने निर्णय गरेका थिए। हाल उनी सोही बैंकमा डेपुटी सीईओको रूपमा कार्यरत छन्। बैंककै आन्तरिक संरचना र व्यवसायलाई नजिकबाट बुझेका आचार्यले साउनदेखि बैंकको पूर्ण कमाण्ड सम्हाल्दै बैंकलाई नयाँ व्यावसायिक उचाइमा पुर्याउने विश्वास गरिएको छ।













