नेपाल एचआर सार्वजनिक, बायोमेट्रिक हाजिरी सिधै तलब प्रणालीसँग जोडिने
काठमाडौं । व्यवसायमा प्रयोग भइरहेका बायोमेट्रिक हाजिरी यन्त्रलाई सिधै तलब प्रणालीसँग जोड्ने दाबी गर्दै नेपाली मानव स्रोत तथा तलब व्यवस्थापन सफ्टवेयर ‘नेपाल एचआर’ सार्वजनिक गरिएको छ।
कम्पनीका अनुसार नयाँ हार्डवेयर खरिद नगरी हाजिरीदेखि तलब व्यवस्थापनसम्मको सम्पूर्ण प्रक्रिया स्वचालित बनाउन सकिने यस प्रणालीको १० जनासम्म कर्मचारी भएका व्यवसायका लागि निःशुल्क संस्करण उपलब्ध गराइएको छ।
कम्पनीले नेपाल एचआरले जेडकेटेको, एनभिज, रियलटाइम, हिकभिजन लगायतका प्रचलित बायोमेट्रिक हाजिरी यन्त्र तथा अधिकांश युएसबी र क्लाउडमा आधारित उपकरणसँग काम गर्ने जनाएको छ। यसबाट व्यवसायले हाल प्रयोग गरिरहेका उपकरणबाटै हाजिरी विवरण सिधै प्रणालीमा ल्याउन सक्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार हाजिरी विवरण स्वतः बिदा व्यवस्थापन र तलब गणनासँग जोडिने भएकाले एक्सेल फाइल आयात–निर्यात गर्ने झन्झट हट्ने र महिनाअन्त्यमा हुने त्रुटि पनि कम हुने छ।
नेपाल एचआरका सहसंस्थापक राजेन्द्र रेग्मीले धेरै कम्पनीसँग पहिले नै बायोमेट्रिक हाजिरी मेसिन भए पनि त्यसको विवरण एक्सेलमा सारेर तलब तयार गर्नुपर्ने अवस्था रहेको बताए। उनले आफूहरूले त्यही मेसिनलाई सिधै तलब प्रणालीसँग जोड्ने समाधान विकास गरेको र यसबाट नयाँ हार्डवेयरमा लगानी नगरी सम्पूर्ण प्रक्रिया स्वचालित हुने बताए।
कम्पनीका अनुसार तलब गणनामा आयकर, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा अन्य आवश्यक कटौती र भुक्तानीका व्यवस्था समावेश गरिएको छ। सम्बन्धित कानुनी व्यवस्था परिवर्तन भएमा प्रणाली स्वतः अद्यावधिक हुने कम्पनीको दाबी छ।
सम्पूर्ण विवरण सुरक्षित सञ्चार प्रणाली र उच्चस्तरीय गुप्तीकरण प्रविधिमार्फत सुरक्षित राखिने, जिम्मेवारीअनुसार पहुँचको व्यवस्था हुने तथा दैनिक रूपमा विवरणको जगेडा प्रतिलिपि तयार गरिने कम्पनीले जनाएको छ। कर्मचारीहरूले मोबाइल अनुप्रयोगमार्फत हाजिरी, बिदा आवेदन र तलब पर्चा पनि हेर्न सक्नेछन्।
कम्पनीका अनुसार १० जनासम्म कर्मचारी भएका व्यवसायले नेपाल एचआर निःशुल्क प्रयोग गर्न सक्नेछन् भने ठूला संस्थाले आवश्यकताअनुसार सशुल्क सेवा लिन सक्नेछन्।
दर्ता प्रक्रिया सहज रहेको र स्वीकृतिपछि अधिकांश संस्थाले दुईदेखि चार साताभित्र प्रणाली सञ्चालनमा ल्याउन सक्ने कम्पनीले जनाएको छ। प्रणाली नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।













